एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि, एसइई-२०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।  एसइईमा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्यांक प्राप्त भइनसकेको उनले बताए  । ‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन् ।   

एसइईमा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले राखु क्षेत्रमा सञ्चालित तीन सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका हुन् ।  रघुगङ्गा गाउँपालिका–२ र ३ स्थित रघुगङ्गा मावि, मुक्तिधाम मावि र ज्ञानोदय माविबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई जनही १० हजार रुपैयाँ तथा ए ग्रेड ल्याउनेलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने ७ जना, मुक्तिधाम माविबाट साधारण तथा प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने ३ जना र ए ग्रेड ल्याउने ६ जना तथा ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना विद्यार्थी पुरस्कृत भएका छन् । साथै दृष्टिविहीन दुई विद्यार्थीलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ । शाहीले ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही १० हजार रुपैयाँ र ए ग्रेड प्राप्त १४ जना तथा २ दृष्टिविहीन गरी १६ जनालाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेका हुन् ।  उनले विगत पाँच वर्षदेखि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई निरन्तर पुरस्कृत गर्दै आएक छन् । साथै, भविष्यमा ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका छन् ।  मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा तथा रघुगङ्गा मावि र ज्ञानोदय माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा तथा प्रधानाध्यापक रमेशसिंह ठकुरीले पुरस्कार वितरण गरे ।  सो अवसरमा कमल शाहीले आफ्ना बुबाको स्मृतिमा स्थापना गरेको ६ लाख ११ हजार रुपैयाँ राशिको ‘देवबहादुर शाही अक्षयकोष’बाट रघुगङ्गा माविका विभिन्न कक्षाका विद्यार्थीलाई समेत विभिन्न विधामा पुरस्कृत गरिएको थियो । 

२१८ जनाको आवेदनमा यी हुन् उपकुलपतिका 'सर्टलिस्टेड' उम्मेदवार (विवरणसहित)

काठमाडौं । विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ ।  उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको शुक्रबार (आज) बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयकाको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गरेको हो । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।  सर्टलिस्टअनुसार त्रिभुवन विश्वविद्यालयमा, पूर्वाञ्चल विश्वविद्यालयमा, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विद्यालयमा समान १० र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना उम्मेदवार रहेका छन् ।  सर्टलिस्टमा रहेका उम्मेदवारहरूका सम्बन्धमा २०८३ जेठ २५ गतेभित्र राय सुझाव दिन सकिनेछ । प्राप्त सुझाव र मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने जनाइएको छ । उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेका थिए । त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा अल्पसूचि सार्वजनिक गरिएको हो । सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो ।  छनोट तथा सिफारिस समितिको जेठ १३ गते बसेको बैठकले प्राप्त आवेदनहरूको प्रारम्भिक परीक्षण गरी योग्य आवेदकहरूको दरखास्त स्वीकृत गरेको थियो । विश्वविद्यालयका कुलपति वालेन शाहले उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो ।  उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ । नयाँ कार्यविधिअनुसार नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता सुनिश्चित गर्न विज्ञ समितिमार्फत प्रारम्भिक छनोटको व्यवस्था गरिएको छ । यस्तो छ विवरणसहित: