किर्ते कागजात बनाएर सरकारी जागिर

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकास्थित श्री भगवती आधारभूत विद्यालय,पर्सेरावलमा बालविकास सहजकर्ता पदमा कार्यरत मञ्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा अभियोगपत्र दायर गरेको छ । 

अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएकी अनुसन्धान अधिकृत गीता आचार्यको प्रतिवेदनका आधारमा आयोगको २०८३ भदौ २९ गतेको बैठक (निर्णय नं. ३११) ले बोहराविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कारबाहीको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार प्रतिवादी बोहराले राष्ट्रसेवकको पदमा नियुक्ति लिई पारिश्रमिक तथा सरकारी सेवासुविधा उपभोग गर्ने बदनियतले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाई स्कूल (कक्षा १०) उत्तीर्ण गरेको भनी झुट्टो लब्धाङ्क पत्र, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्र पेस गरेकी थिइन् । 

डडेल्धुराको आलिताल गाउँपालिका वडा नं. ५ निवासी ३८ वर्षीया बोहराको शैक्षिक योग्यता नक्कली रहेको भन्दै आयोगमा उजुरी दर्ता भएपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको थियो ।  विभिन्न निकायका पत्राचार र अनुसन्धान निष्कर्षअनुसन्धानका क्रममा आलिताल गाउँपालिकाको कार्यालयले अख्तियारलाई पत्राचार गर्दै बोहराले विद्यालयमा पेस गरेका शैक्षिक कागजातहरू (हाई स्कूल मार्कशीट, प्रमाणपत्र, माइग्रेसन तथा कक्षा ११÷१२ को ट्रान्सक्रिप्ट) छानबिनका लागि पठाएको थियो । 

त्यसैगरी, श्री दुर्गा माध्यमिक विद्यालय, आलितालले २०८३ साउन २२ गते (च.नं. ०५) लेखेको पत्रअनुसार प्रतिवादी बोहराले सो विद्यालयमा कक्षा ११ मा भर्ना हुनका लागि माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश भारतको सन् २०१० को हाई स्कूल परीक्षाको झुट्टा प्रमाणपत्र पेस गरेको विवरण प्राप्त भएको थियो ।  राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाको पत्राचारसँग संलग्न भारतीय निकायको पत्रले बोहराको प्रमाणपत्र नक्कली रहेको आधिकारिक पुष्टि गरेको छ । 

माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय प्रयागराज (उत्तर प्रदेश, भारत) ले सन् २०२६ जनवरी ९ (०९–०१–२०२६) मा नेपालको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिवलाई पठाएको औपचारिक पत्रमा “हाई स्कूल परीक्षा वर्ष २०१० को अनुक्रमाङ्क ३६५९२२६ परिषद्को अभिलेखअनुसार मञ्जुको बोहराको नाममा आवंटित नभई अर्कै विद्यार्थीको नाममा आवंटित रहेको, तसर्थ संलग्न प्रमाणपत्र कुटरचित (नक्कली) हो र परिषद्द्वारा निर्मित÷जारी गरिएको होइन’ भनी उल्लेख छ ।  

सोही नक्कली एसएलसी प्रमाणपत्रका आधारमा बोहराले डडेल्धुराकै श्री दुर्गा माध्यमिक विद्यालयबाट वि.सं. २०७० सालमा ४७.६० प्रतिशत प्राप्त गरी कक्षा ११ र १२ (+२) उत्तीर्ण गरेको राष्ट्रिय परीक्षा बोर्डको पत्रबाट देखिएको छ । तर मूल (हाई स्कूल) प्रमाणपत्र नै झुट्टा र कुटरचित ठहरिएकाले सोका आधारमा प्राप्त +२ को प्रमाणपत्र समेत स्वतः अमान्य र झुट्टा हुने अख्तियारको ठहर छ ।  

प्रतिवादी मञ्जु देवी बोहराले बयान दिने क्रममा आफू २०७५ असोज २१ गते भगवती प्राविमा बालविकास सहजकर्ताका रूपमा नियुक्त भई घरायसी समस्याका कारण २०८३ जेठ ८ गते राजीनामा दिइसकेको बताएकी छन् । उनले आफूले जानीजानी गल्ती नगरेको दाबी गर्दै बयानका क्रममा भनेकी छन्, ‘मैले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट २०१० मा र +२ श्री दुर्गा मा.वि. डडेल्धुराबाट २०७० मा प्राप्त गरेको हुँ । मैले राजकीय कन्या इन्टर कलेज सिङ्गरुनगर लखनउमा रेगुलर पढेको होइन, परीक्षा दिएको हो । त्यसपछि गाउँका एक जना शिक्षक शोभा राना सरले मेरो प्रमाणपत्र ल्याइदिनुभएको हो ।’


प्रतिवादी बोहराले बयानका क्रममा चिनेजानेका शिक्षकले प्रमाणपत्र ल्याइदिएको दाबी गरे तापनि प्रमाणपत्र जारी गर्ने निकाय माध्यमिक शिक्षा परिषद् प्रयागराजबाटै उक्त कागजात कुटरचित भई आएकाले निजको बयान आफैँमा खण्डित भएको आयोगले आरोपपत्रमा उल्लेख गरेको छ ।  

बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरजन्य कार्य भएकाले निजलाई सोही ऐनको दफा १६ (१) बमोजिम ६ महिनादेखि १ वर्षसम्म कैद र  १० हजारदेखि २० हजारसम्म जरिबानाको सजाय हुन मागदाबी गरिएको छ ।  

Share News