काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
पदाधिकारी तथा कर्मचारीको तलब तथा भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले बुधबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरे ।
राहतका लागि उपकुलपति, रेक्टर र रजिष्ट्रारले एक महिनाको तलब योगदान गरेका छन् । त्यस्तै, प्राध्यापक तथा प्रशासनतर्फका सोसरहका कर्मचारीले मासिक सुरु तलब स्केलको १० दिनबराबरको रकम सहयोग गरेका छन् ।
उपप्राध्यापक तथा उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षक वा सोसरहका शिक्षक–कर्मचारीबाट सात दिनबराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सोसरहका कर्मचारीबाट पाँच दिनबराबर र श्रेणीविहीन कर्मचारीबाट दुई दिनबराबरको पारिश्रमिक कट्टा गरी राहत कोषमा जम्मा गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।