काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वनिगः क्याम्पसबाट उच्च शिक्षाका कार्यक्रम सञ्चालन गर्दै स्वनिगः विश्वविद्यालय स्थापना गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।
यसका लागि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. माणिकरत्न शाक्य र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलसँग सम्झौता गरेकी छन् ।
सम्झौताअनुसार स्वनिगः क्याम्पस सञ्चालनको सम्भाव्यता, उपयुक्त स्थानको पहिचान, लागत सहभागिता, आवश्यक शैक्षिक कार्यक्रम, क्याम्पस सञ्चालन तथा व्यवस्थापनको संस्थागत प्रारूप र सहकार्य तथा साझेदारीको संरचनाबारे अध्ययन गरिनेछ ।
यस्तै, क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रम, जनशक्ति व्यवस्थापन, प्राज्ञिक तथा गैरप्राज्ञिक प्रशासन, समन्वय, सहजीकरण, समुदायको पहुँच तथा आवश्यक स्रोत व्यवस्थापनलगायत विषयमा पनि अध्ययन हुनेछ ।
अध्ययन समितिले पाठ्यक्रम निर्धारण, शैक्षिक सत्र, विद्यार्थी भर्ना, कोटा निर्धारण, परीक्षा, क्रेडिट, अनुसन्धान केन्द्र, गुणस्तर सुनिश्चितता तथा उपाधिसम्बन्धी प्राज्ञिक जिम्मेवारीका विषयमा समेत अध्ययन गरी सिफारिस गर्नेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय एवं प्राज्ञिक संस्थासँग सहकार्य र सम्बन्ध, अनुगमन, सुपरीवेक्षण तथा मूल्यांकन अधिकारका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।
काठमाडौं महानगरपालिकाको उच्च शिक्षा सञ्चालन, व्यवस्थापन तथा कार्यक्रमका विषयमा अध्ययन गरी समितिले महानगरपालिका र सम्बन्धित विश्वविद्यालयलाई सिफारिस गर्नेछ । यसका लागि तीन दिनभित्र सबै पक्षबाट दुई–दुई जना रहने गरी अध्ययन समिति गठन गरिनेछ ।
काठमाडौं महानगरपालिकाको नगर सभाले आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत गरेको नीतिअनुसार सञ्चालनमा रहेका विश्वविद्यालयसँग सहकार्य गरेर स्वनिगः क्याम्पस सञ्चालन गर्ने योजना अघि सारिएको हो ।
सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले आफैँ स्वनिगः क्याम्पस स्थापना तथा सञ्चालन गरेर नेपाल सरकारसँग समन्वय गर्दै स्वनिगः विश्वविद्यालय सञ्चालनको यात्रा थालनी गरेको बताइन् ।
‘हामीलाई काठमाडौं उपत्यकाको सहरी विकास, रैथाने ज्ञान तथा सीपको विज्ञान अध्ययन गरेर स्थानीय समस्याको स्थानीय स्तरमै समाधान दिन सक्ने जनशक्ति चाहिएको छ । यसका लागि हामी कस्टमाइज्ड कोर्स विकास गर्न चाहन्छौँ,’ उनले भनिन् ।
‘सहरले पूर्वाधार विकास, सामाजिक तथा आर्थिक विकास तथा सहरी व्यवस्थापनका काम त गर्छ नै । यससँगै मानव पुँजी विकासको काम पनि गर्छ,’ उनले भनिन्, ‘समयसापेक्ष परिवेश सुहाउँदा जनशक्ति निर्माण गरेर उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गर्न चाहन्छौँ ।’
यसरी अध्यापन गराउन थालेपछि काठमाडौं उपत्यकालाई तथ्य र आवश्यकतामा आधारित एकीकृत विकास प्रणालीमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा रहेको डंगोलले बताइन् ।
त्यस क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. शाक्यले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि बौद्ध अध्ययन गर्न काठमाडौं उपयुक्त स्थान भएको बताए ।
‘काठमाडौंको भाषा, कला, संस्कार र संस्कृति तथा परम्परागत वास्तुकलाको अध्ययन गराउन आवश्यक थियो । अब त्यो आवश्यकता पूरा हुनेछ,’ उनले भने ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. पौडेलले नेपालका पहिचानसँग जोडिएका विषयमा अन्तर्राष्ट्रिय स्तरमा अध्यापन गराउने जनशक्ति विकास गर्नुपर्ने बताए ।
‘नेपालका पहिचानका विषयमा अन्तर्राष्ट्रिय स्तरमा अध्यापन गराउँदा विदेशीले नै गराइरहेका छन् । काठमाडौं महानगरपालिकाले शैक्षिक यात्रा थालेपछि नेपालको पहिचानका विषयमा अन्तर्राष्ट्रिय अध्ययनको अध्यापन गराउने जनशक्ति विकास हुनेछन्,’ उनले भने ।
उनले विषयगत शिक्षक उत्पादनमा समेत कमी भइरहेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
त्यस क्रममा व्यवस्थापन तथा कानुन संकायका डीन डा. शिवराज अधिकारीले महानगरपालिकाले छात्रवृत्ति प्रदान गरेर अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न सक्ने सम्भावना रहेको बताए ।
यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका निर्देशक कुमार खड्काले बौद्ध अध्ययनमार्फत काठमाडौं र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान काठमाडौं उपयुक्त स्थान भएको बताए ।
बागमती विश्वविद्यालयसँग स्वनिगः क्याम्पसमार्फत कानुन, वातावरण, इन्जिनियरिङलगायत विषयमा अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षण सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिनेछ ।
त्यसैगरी, लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा बौद्ध अध्ययन, पुरातत्त्व, सङ्ग्रहालयशास्त्र, बौद्ध कला तथा वास्तुकला, सम्पदा संरक्षण र दिगो विकाससँग सम्बन्धित उच्च शिक्षा, अनुसन्धान तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने सम्भावनाका विषयमा अध्ययन गरिनेछ ।
महानगरपालिकाले थालेको यो यात्राले काठमाडौंका मौलिक भाषा, संस्कृति तथा सम्पदासँग सम्बन्धित ज्ञानलाई उच्च शिक्षासँग जोड्ने, अनुसन्धान र दक्ष जनशक्ति उत्पादन गर्ने तथा सम्पदा संरक्षणलाई व्यावसायिक र प्राज्ञिक आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।