काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।
केयूका एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले बुधबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई ८५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
केयूको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले केयूले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो ।
विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने अपेक्षासहित कोषमा रकम हस्तान्तरण गरेको केयूले जनाएको छ ।