बीमा कम्पनीले घटाए शाखा कार्यालय
काठमाडौं । एक वर्षको अन्तरालमा बीमा कम्पनीहरुको शाखा कार्यालय १४ वटा घटेका छन् । नेपाल बीमा प्राधिक।रणले सार्वजनिक गरेको बीमा प्रतिबीम्बअनुसार चालु आवको जेठसम्ममा शाखा कार्यालय ११ वटा घटेका हुन् । प्राधिकरणका अनुसार जेठमसान्तसम्ममा देशभर बीमा कम्पनीहरुको शाखा कार्यालय २ हजार ९९३ वटा रहेका छन् । गत आवको यही अवधिमा बीमा कम्पनीहरुको शाखा कार्यालय ३ हजार ७ वटा रहेका थिए । बीमा कम्पनीहरु एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेसँगै एकै स्थानमा भएका शाखा कार्यालयसमेत मर्ज गराई घटाएका हुन् । जेठ मसान्तसम्ममा जीवन बीमातर्फ १ हजार ८३८ शाखा कार्यालय सञ्चालनमा छन् । जुन गत आवको यही अवधिको तुलनामा ०.६५ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय १ हजार ८५० वटा थिए । त्यसैगरी निर्जीवन बीमातर्फ १ हजार १५५ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । गत आवको यही अवधिमा निर्जीवन बीमातर्फ १ हजार १५७ शाखा कार्यालय सञ्चालनमा थिए । गत आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको शाखा कार्यालय ९.१७ प्रतिशतले घटेको छ ।
आईएमई लाइफले जित्यो ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ को ब्रन्ज अवार्ड
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको गुणस्तरीय प्रस्तुति, वित्तीय पारदर्शिता, लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा प्रदान गरिएको हो । काठमाडौंमा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहोराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए । अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत खड्काले यो सम्मान सम्पूर्ण आईएमई लाइफ परिवारका लागि गौरवको विषय भएको बताए । उनले वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई निरन्तर सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे । कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजारस्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ‘ए माइनस (A-)’ क्रेडिट रेटिङ प्राप्त गरेको जनाएको छ । देशभर १६० शाखा तथा उपशाखा र ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत कम्पनीले जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि वित्तीय पारदर्शिता, संस्थागत सुशासन र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै ग्राहकको विश्वास अझ मजबुत बनाउने जनाएको छ ।
बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्न निर्देशन जारी गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा बीमा सर्भेयरसम्बन्धी निर्देशन, २०८३ बमोजिम इजाजतप्राप्त सम्पूर्ण बीमा सर्भेयरका नाममा पोर्टफोलियो काम गर्न निर्देशन दिएको हो । सूचना प्रकाशन भएको १० दिनभित्र पोर्टफोलियो कायम गर्न प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले जारी सूचनाअनुसार सर्भेयरले आईआरएमआईएस प्रणालीमा बीमा सर्भेयरको व्यक्तिगत विवरण (केवाईसी) स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ । बीमा ऐनको दफा ९१ को उपदफा (५) बमोजिम सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले बीम नियमावलीको नियम ४५ (१) अनुसार आफ्नो विशेषज्ञता रहेको रोजेको पोर्टफोलियोको इजाजतपत्र कायम गर्न पोर्टफोलियो उल्लेख गरी निवेदन पेस गर्नुपर्नेछ । त्यस्तै बीमा नियमावलीको नियम ४९ को उपनियम (२) बमोजिम सबै संस्थागत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले वर्गविहीन इजाजतपत्र कायम गर्न निवेदन पेस गर्नुपर्नेछ । बीमा नियमावलीको नियम ४९ को उपनियम (१) खण्ड (ग) बमोजिम ‘ग’ वर्गको इजाजतपत्र कायम गर्न ‘घ’ वर्गका सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले निवेदन पेस गर्नुपर्नेछ ।