काठमाडौं । नेपाल बीमा सर्भेयर संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका बीमितहरूलाई आवश्यक प्रमाणहरु सुरक्षित राख्न आग्रह गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै दाबीका लागि आवश्यक फोटो, भिडियो, बिल तथा अन्य प्रमाणहरू सुरक्षित राख्न आग्रह गरेको हो ।
संघले अचनाक भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवालगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको प्रति दुःख व्यक्त गरेको छ ।
बाढीका कारण निजी तथा सार्वजनिक सम्पत्ति, भवन, उद्योग व्यवसाय, सवारी साधन, निर्माणाधीन जलविद्युत् आयोजना, मेसिनरी तथा उपकरण लगायतका विभिन्न बीमित सम्पत्तिमा ठूलो क्षति पुगेको छ ।
संघले निर्जीवन बीमा कम्पनीहरूलाई बाढीजन्य दाबी दर्ता, सर्भेयर नियुक्ति र दाबी फर्छयौट प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउन आग्रह गरिएको छ । त्यस्तै बाढीबाट पीडित बीमित संघसंस्थाले पनि यथाशीघ्र बीमा कम्पनीमा जानकारी दिन संघको अनुरोध छ ।
संघले सम्पूर्ण सदस्य सर्भेयरहरूलाई प्रभावित क्षेत्रको सर्भे कार्यलाई उच्च प्राथमिकतामा राखी निष्पक्ष, व्यावसायिक र शीघ्र रूपमा क्षति मूल्याङ्कन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।