मौद्रिक नीति चार बजे सार्वजनिक हुने, पत्रकार सम्मेलन पनि भर्चुअल

काठमाडाैं । नेपाल राष्ट्र बैंकले साँझ चार बजे मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकका सह—प्रवक्ता नारायण पाेखरेलले मौद्रिक नीति साँझ चार बजे सार्वजनिक हुने बताएका हुन् । उनका अनुसार राष्ट्र बैंकले विभिन्न टेलिभिजनमार्फत् र जुमबाट पनि मौद्रिक नीति सार्वजनिक हुनेछ । यसअघि राष्ट्र बैंकले बैंकर्स, उद्याेगी, पत्रकारहरू हाेटलमा भेला गराएर माैद्रिक नीति सार्वजनिक गर्ने अभ्यास थियाे । काेराेना महामारीपछि गभर्नर महाप्रसाद अधिकारीले टेलिभिजन तथा अनलाइन मार्फत माैद्रिक नीति सार्वजनिक गर्ने अभ्यास चलाएका छन् । पत्रकार सम्मेलनपछि राष्ट्र बैंकले साँझ ५ बजे भर्च्यूअल रूपमा पत्रकार सम्मेलन गर्ने भएकाे छ ।

निफ्राको नाफासँगै ईपीएस पनि बढ्यो, कर्जा प्रवाह साढे १५ अर्ब बढी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २२.५३ प्रतिशत बढेर १ अर्ब २ करोड ६१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८३ करोड ७४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेर १ अर्ब ८८ करोड ६३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ५९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.१४ प्रतिशत बढेर १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार, खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत बढेर ९६ लाख ३५ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी ४१.७२ प्रतिशत बढेर १ अर्ब ८९ करोड ५९ लाख ६३ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २२.६३ प्रतिशत बढेर ८० करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष २७.६८ प्रतिशत घटेर १ अर्ब ७३ करोड ७० लाख ४३ हजार रुपैयाँ, निक्षेप १५.०६ प्रतिशत बढेर २ अर्ब १८ करोड ८० लाख २० हजार रुपैयाँ र कर्जा प्रवाह ५८२.८९ प्रतिशत बढेर १५ अर्ब ५३ करोड ९२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.१९ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ ।

प्रभु बैंकले १५ सय महिला उद्यमीलाई सहुलियत कर्जा दिने

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरूलाई वित्तीय कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसअनुसार बैंकले करिब १५ सय उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ । सम्झौता अनुसार बैंकले कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृंखलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउने छ । यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ । उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आबद्ध रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरि बैंकसँग जोड्न सहज बनाउनेछन् ।