काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समितिमा विशाल समूह र सांघाई समूहसँग आबद्ध व्यवसायीदेखि पूर्वाधार वित्त, बैंकिङ तथा ऊर्जा क्षेत्रका अनुभवी व्यक्तिसम्म रहेका छन् । बैंकको सञ्चालक समितिको नेतृत्व अशोककुमार अग्रवालले गरिरहेका छन् ।
नेपालका दुई वाणिज्य बैंक नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक लिमिटेड र बैंक अफ एसिया नेपाल लिमिटेड गाभिएपछि एनआईसी एशिया बैंक स्थापना भएको हो । बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६७ हजार रुपैयाँ रहेको छ । बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत छ ।
अध्यक्ष अशोककुमार अग्रवाल
एनआईसी एशिया बैंकका अध्यक्ष अशोककुमार अग्रवाल नेपालका पुराना व्यावसायिक समूहहरूमध्ये एक विशाल समूहका निर्देशक हुन् । उनी सन् १९८५ जनवरीदेखि विशाल समूहसँग आबद्ध छन् । चार दशकभन्दा बढी समयदेखि नेपाली व्यवसाय क्षेत्रमा सक्रिय अग्रवालले समूहको व्यवसाय विस्तार र व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएका छन् ।
विशाल समूहअन्तर्गत विभिन्न व्यावसायिक गतिविधिमा संलग्न रहँदै आएका अग्रवालसँग व्यवसाय सञ्चालन, व्यवस्थापन र संस्थागत विकासको लामो अनुभव छ । समूहको व्यावसायिक विस्तारसँगै उनले व्यवस्थापनका विभिन्न पक्षमा काम गरेका छन् । भारतको एचआर कलेज अफ कमर्स एन्ड इकोनोमिक्समा अध्ययन गरेका अग्रवालको नेतृत्वमा बैंकको सञ्चालक समिति सञ्चालन भइरहेको छ ।
रामचन्द्र सांघाई
रामचन्द्र सांघाई सांघाई समूहसँग आबद्ध अनुभवी व्यवसायी हुन् । उनले २३ वर्षको उमेरदेखि पारिवारिक व्यवसायमा संलग्न भएर व्यावसायिक यात्रा अघि बढाएका थिए । बुबासँगै काम गर्दै व्यवसायका आधारभूत पक्ष सिकेका सांघाईले तल्लो तहबाटै काम सुरु गरेर क्रमशः विभिन्न जिम्मेवारी सम्हालेका हुन् ।
व्यवसाय सञ्चालनमा पारिवारिक मूल्य, इमानदारी र कामप्रतिको प्रतिबद्धतालाई महत्त्व दिँदै आएका सांघाई हाल त्रिवेणी समूहअन्तर्गत एलपीजी तथा धागो व्यवसाय हेर्दै आएका छन् ।
आदित्यकुमार अग्रवाल
बैंकका सञ्चालक आदित्यकुमार अग्रवालसँग विभिन्न व्यापारिक कम्पनी तथा मार्केटिङ क्षेत्रमा १० वर्षभन्दा बढीको अनुभव छ । ३८ वर्षीय अग्रवालले व्यापार र बजार व्यवस्थापनसम्बन्धी क्षेत्रमा काम गर्दै व्यावसायिक अनुभव हासिल गरेका छन् । विभिन्न व्यापारिक गतिविधिमा संलग्न रहेको अनुभवलाई उनले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् ।
केशवप्रसाद लम्साल
केशवप्रसाद लम्साल बैंकिङ क्षेत्रमा अनुभव भएका एनआईसी एशिया बैंकका सञ्चालक हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा उपकार्यकारी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका लम्सालले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
रामकृष्ण खतिवडा
सञ्चालक रामकृष्ण खतिवडा पूर्वाधार वित्त, विकास वित्त, सार्वजनिक–निजी साझेदारी (पीपीपी), जलवायु वित्त तथा ऊर्जा क्षेत्रका अनुभवी हुन् । पूर्वाधार विकास, वित्तीय संस्था व्यवस्थापन, पुँजी बजार, लगानी बैंकिङ र ठूला परियोजनाको विकास तथा वित्तीय व्यवस्थापनमा उनीसँग २५ वर्षभन्दा बढीको नेतृत्व अनुभव छ ।
खतिवडा सन् २०२१ देखि २०२४ सम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत थिए । निफ्राको नेतृत्व गर्दा उनले बैंकको समग्र व्यवस्थापनसँगै ठूला पूर्वाधार परियोजनाको लगानी तथा वित्तीय व्यवस्थापनसम्बन्धी कामको नेतृत्व गरेका थिए । त्यसअघि उनले नेपाल विद्युत् नियमन आयोगमा आयुक्त र लगानी बोर्डको कार्यालयमा आयोजना विकास तथा व्यवस्थापनसम्बन्धी प्रमुख प्रबन्धकका रूपमा काम गरेका थिए ।
विद्युत् नियमन आयोगमा रहँदा खतिवडाले विद्युत् महसुल निर्धारण, विद्युत् खरिद सम्झौता, प्रसारण शुल्क, सेयर निष्कासन, पुँजी संरचना परिवर्तन तथा गाभ्ने र प्राप्तिसम्बन्धी विषयमा काम गरेका थिए । लगानी बोर्डमा रहँदा ठूला पूर्वाधार परियोजनाको सम्भाव्यता अध्ययन, परियोजना संरचना निर्माण, सहुलियत सम्झौता वार्ता, व्यवस्थापन र अनुगमनमा भूमिका निर्वाह गरेका थिए ।
हाल उनी रिन्यु होल्डिङ्स प्रालिका कार्यकारी निर्देशक तथा अन्नपूर्ण स्क्वायर प्रालिका प्रबन्ध निर्देशक छन् । रिन्यु होल्डिङ्समा उनले ब्याट्री ऊर्जा भण्डारण प्रणालीसहित करिब १ हजार ८०० मेगावाट क्षमताका जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनामा काम गर्दै आएका छन् । अन्नपूर्ण स्क्वायरमा होटल, खुद्रा व्यापारिक क्षेत्र, कार्यालय र मनोरञ्जन सुविधासहितको मिश्रित परियोजनाको पुनर्विकासको नेतृत्व गरिरहेका छन् ।
खतिवडा नेपाल उद्योग परिसंघको पूर्वाधार समितिका अध्यक्षसमेत हुन् । उनी आईसीटी पार्क तथा डाटा सेन्टर परियोजनासम्बन्धी इन्फ्रा होल्डिङ्सका अध्यक्ष, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा गार्मेन्ट गियर प्रालिका सञ्चालकका रूपमा पनि आबद्ध छन् । यसका अतिरिक्त उनी एग्रिभास्तु कोल्ड स्टोरेज प्रालिका सञ्चालकसमेत हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट वित्त तथा वित्तीय संस्था र बजार विषयमा एमबीए गरेका छन् । साथै, आईसीएफएआई विश्वविद्यालयबाट वित्त तथा लगानीमा स्नातकोत्तर, चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) योग्यता हासिल गरेका छन् । उनले ग्लोबलएनएक्सटी विश्वविद्यालयबाट पूर्वाधार वित्त विषयमा व्यवसाय प्रशासनमा विद्यावारिधि (डीबीए) समेत गरेका छन् ।
अनुपा प्रधान राजभण्डारी
बैंककी सञ्चालक अनुपा प्रधान राजभण्डारी सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्छिन् । उनी बैंकिङ क्षेत्रमा झन्डै तीन दशकको अनुभव हासिल गरेकी बैंकर हुन् । व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालीन बैंक अफ काठमाण्डूमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् । बैंकिङ क्षेत्रको लामो अनुभवसहित सञ्चालक समितिमा प्रवेश गरेकी उनको नियुक्तिले बैंकको बोर्डमा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
जयन्तकुमार अग्रवाल
एनआईसी एशिया बैंकका सञ्चालक जयन्तकुमार अग्रवाल विभिन्न व्यावसायिक संस्थाको व्यवस्थापनमा संलग्न छन् । उनी रोबिन पोलिमर्स प्रालि, रोबिन फोमिङ एन्ड पेपर प्रोडक्ट्स प्रालि तथा रोबिन कमर्सियल सेन्टरका प्रबन्ध निर्देशक हुन् ।
यी संस्थाको समग्र व्यवस्थापन तथा व्यावसायिक सञ्चालनको नेतृत्व गर्दै आएका अग्रवाल यसअघि सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकसमेत बनेका थिए ।