काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो । गत वर्षको असोजसम्ममा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ५५ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २२ करोड रुपैयाँ नाघेको छ । गत वर्षको असोजसम्ममा यस्तो आम्दानी १२ करोड ७० लाख ८३ हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा ६१ करोड ५६ लाख ६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ७.६९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ११.२४ रुपैयाँबाट बढेर १६.१२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.३४ गुणा रहेको छ ।
असोजसम्ममा बैंकले १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ थियो । यसअनुसार बैंकको निक्षेप २.२० प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकको कर्जा तथा सापट रकम ४.९४ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्ममा बैंकले १ खर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी ४ अर्ब ९६ करोड ४५ लाख रुपैयाँले बढेको हो ।
बैंकको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । सञ्चालन खर्च नियन्त्रण र कर्जा नोक्सानी व्यवस्थामा सुधारका कारण सञ्चालन मुनाफा बढेको बैंकले जनाएको छ ।
यद्यपि, बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको असोजमा ४.०३ प्रतिशत रहेको खराब कर्जा चालु आवको असोजसम्ममा बढेर ४.७३ प्रतिशत पुगेको छ ।