काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट कर्जा (टीआर लोन) मा कडाइ गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् टीआर कर्जामा कडाइ गर्ने भएकाे हो ।
राष्ट्र बैंक स्रोतका अनुसार व्यवस्थापन समितिबाट टीआर कर्जा कडाइ गर्ने बुँदा राष्ट्र बैंक सञ्चालक समितिमा गइसकेको थियो । सम्भवतः समितिले पनि सो व्यवस्थालाई सदर गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागको नेतृत्वमा बनेको मौद्रिक नीतिको ड्राफ्टमा अत्यावश्यक बाहेकका व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको टीआर कर्जा प्रवाह नगरिने व्यवस्था गरेको थियो ।
सोही व्यवस्थालाई राष्ट्र बैंकको व्यवस्थापन समितिले पनि पारित गरेर बोर्डमा पठाएको थियो । यति बोर्डले पनि सो व्यवस्थालाई स्वीकृत गरेमा अब टीआर कर्जामा कडाइ हुनेछ ।
उसो त यसअघि पनि राष्ट्र बैंकले टीआर कर्जामा केही गरेको थियो । बैंकिङ क्षेत्रमा तरलता अभाव देशको भुक्तानी सन्तुलनको अवस्था निरन्तर बिग्रिएपछि राष्ट्र बैंकले टीआर कर्जामा थप कडाइ गर्न लागेको हो । यस्तो कर्जा बढीमा ९० दिनको लागि दिन सकिने व्यवस्था छ ।
विदेशबाट सामान आयात गर्नको लागि व्यवसायीहरुले टिआर कर्जा लिन्छन् । सामान आयात भएको ९० दिनमा भुक्तानी हुने आधारमा यस्तो खालको कर्जाको सिमा ९० दिन राखिएको हुन्छ ।
यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउन विभिन्न सहुलियत दिने कार्यक्रम पनि ल्याएको छ ।
अनौपचारिक माध्यमबाट विदेशी विनिमय अपचलन सम्बन्धी कारोबार गर्नेलाई कडा कारवाही र औपचारिक च्यानलबाट रेमिट्यान्स पठाउनेलाई धेरै वटा सहुलियत प्रदान गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।