नेपाल बैंकका अध्यक्ष ज्ञवालीलाई गभर्नरले भने : खराब कर्जामा ध्यान दिनु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीलाई पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । गभर्नर अधिकारीले ज्ञवालीको शपथ ग्रहणको क्रममा यस्तो सुझाव दिएका हुन् । ज्ञवालीले सोमबार गर्भनर अधिकारीबाट पदको पद तथा गोपनियताको शपथ लिएका छन् । साउन २३ गते बसेको बैंकको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा उनी नियुक्त भएका थिए । गभर्नर अधिकारीले अध्यक्ष ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने पनि बताए । यस्तै, उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे । शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष ज्ञवालीले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने बताए ।

अर्थतन्त्रमा सुधारको संकेत, दबाब भने कायमै

काठमाडौं । पछिल्लो केही महिना यता अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा दबाबै देखिएको भएपनि पछिल्ला एक/दुई महिनामा भने अर्थतन्त्र सुधारको दिशामा देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा भने त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो । गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा मूल्यवृद्धि बढेको भएपनि गत महिनाको तुलनामा भने घटेको छ । २०७९ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७९ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो । विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले आर्थिक वर्ष २०७८/७९ का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप रहन पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत, ९.९२ प्रतिशत, ९.८४ प्रतिशत र ८.५७ प्रतिशत रहेको छ । शोधान्तर स्थिती साढे २ खर्ब घाटामा गत आर्थिक वर्ष २०७८/७९ मा शोधनान्तर स्थिती रु.२५५ अर्ब २६ करोडले घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शोधान्तर स्थिति निरन्तर घाटामा छ । यद्यपि पछिल्लो केही महिनामा भने सुधारको संकेत देखिएको छ ।  जेठ महिनामा शोधनान्तर स्थिति रु.२६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । एक महिनामा शोधान्तर स्थिति १४ अर्ब ५५ करोडले घाटा कम देखिएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको सञ्चितिमा सुधार नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनाको तुलनामा विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड कायम भएको छ । तर, एक महिनाको तुलनामा भने केही सुधार देखिएको छ । जेठ महिनामा विदेशी मुद्राको सञ्चिति ११७६ अर्ब ८४ करोड थियो । एक महिनाको तुलनामा विदेशी मुद्राको सञ्चिति ३८ अर्ब ९६ करोडले बढेको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । निर्यातमा वृद्धि गत जेठको तुलनामा निर्यातमा पनि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठमा कुल १ खर्ब ८५ अर्ब ८४ करोड रुपैयाँको निर्यात भएको थियो । तर, असारसम्म कुल २ खर्ब ३ करोडको निर्यात भएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षको तुलनामा पनि निर्यात ४१.७ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकका अ अनुसार आयत भने बढेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । रेमिट्यान्स पनि बढ्यो आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । जेठसम्म रेमिट्यान्स आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको थियो । यो तथ्यांकले पनि रेमिट्यान्स बढ्दै गएको देखिन्छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३,५४,६६० पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो । भइरहेको बेला नेपाल राष्ट्र बैंकको तथ्यांकले भने विस्तारै अर्थतन्त्रले लय समात्न लागेको सन्देश प्रवाह गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो १० गुणा प्रतिफल दिने मुद्दती योजना, ८० प्रतिशतसम्म कर्जा लिन पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन् । यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकको अनुसार ग्राहकले आफ्नो बचत रकममा कर्जा लिनेरदिने दिनसम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् । यस योजनामा सहभागि हुन चाहने ग्राहकले मुलुकभर रहेको ११२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको बैंकले जनाएको छ । बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएमको साथै बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।