काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकका नवनियुक्त अध्यक्ष गंगाप्रसाद ज्ञवालीलाई पुराना खराब कर्जाहरुको व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । गभर्नर अधिकारीले ज्ञवालीको शपथ ग्रहणको क्रममा यस्तो सुझाव दिएका हुन् ।
ज्ञवालीले सोमबार गर्भनर अधिकारीबाट पदको पद तथा गोपनियताको शपथ लिएका छन् । साउन २३ गते बसेको बैंकको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा उनी नियुक्त भएका थिए ।
गभर्नर अधिकारीले अध्यक्ष ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने पनि बताए ।
यस्तै, उनले पछिल्ला वर्षहरुमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष ज्ञवालीले बैंकको व्यवसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने बताए ।