राष्ट्र बैंकले भन्यो : क्रिप्टोको कारोबार नगर्नु, तत्काल कारावाही हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो । यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत माघ ९ गते सूचना जारी गरेर कारोबार नगर्न भनेपनि पुनः यो सूचना जारी गरेर सचेत गराएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भच्र्युअल करेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भच्र्युअल करेन्सीको कारोबार गैरकानुनी रहेको छ, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ,’ सूचनामा उल्लेख गरिएको छ । नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भच्र्युअल करेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी सिद्धार्थ बैंक स्मार्ट एक्सपि नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंक स्मार्ट एक्सपि मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् । सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो बैंकिङ्ग एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल एप स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको यस मोबाइल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन् । यस सिद्धार्थ बैंक स्मार्ट एक्सपि मार्फत ग्राहकहरुले यस्ता सुविधा लिन सक्नेछन् : – पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सकिने – नयाँ चेकबुक अनुरोध गर्न सकिने – बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछरदर्ता गर्न सकिने – बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चित गर्न सकिने – निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सकिने यसका साथै, ग्राहकले डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि उपभोग गर्न सक्नेछन् । बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवामार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

घट्दो निक्षेपले पायो निरन्तरता, कर्जा लगानीसँगै बढ्यो सीडी रेसियो

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप घट्ने क्रम जारी छ । आर्थिक वर्ष लागेसँगै घटिरहेको बैंकहरुको निक्षेप साउनको चौथो सातामा ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ । गत आवको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप रकम थियो । हालसम्म आइपुग्दा बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घटीसकेको छ । साउनको तेश्रो सातामा बैंकहरुमा ४४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो । गत एक सातामा मात्रै २५ खर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । संघका अनुसार कर्जा रकम भने पछिल्लो तीन सातादेखि निरन्तर बढीरहेको छ । साउनको दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले साउनको चौथो सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यस्तै, एक सातामा यस्तो लगानी ९ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानीबढेसँगै बैंकहरुको सीडि रेसियो पनि बढेको छ । अघिल्लो साता ८७.६९ प्रतिशत रहेको उक्त रेसियो यो साता बढेर ८८.३५ प्रतिशत पुगेको बैंकर्स संघले जानकारी गराएको छ ।