बैंकहरुमा निक्षेप बढेसँगै घट्यो सीडी रेसियो

काठमाडौं । पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुले भदौ तेश्रो सातामा ११ अर्ब रुपैयाँले निक्षेप बढाएका हुन् । भदौको दोश्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो सातामा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो । त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि एक अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.२५ प्रतिशतमा झरेको छ । अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो ।

सिद्धार्थ बैंकबाट सेयर भर्दा सि-आश्वा शुल्क नलाग्ने

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अब आइपीओ भर्दा सि-आश्वा शुल्क नलाग्ने भएको छ ।बैंकका अनुसार अबदेखि लगानीकर्ताले बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क नलाग्ने भएको हो । नेपाल धितोपत्र बोर्डले सि-आश्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरूले यसलाई निःशुल्क गर्न थालेका हुन् । यस अघि बैंकले आस्वावापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । यसअघि राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकहरुले सि-आश्वा शुल्क नलिने घोषणा गरिसकेका छन् ।

कुमारी बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिकमा विशेष छुट, कुनमा कति ?

काठमाडौं । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । दुई कम्पनीबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २० प्रतिशत, प्रयोगशाला शुल्कहरूमा १५ प्रतिशत, एक्स-रेमा १० प्रतिशत, र औषधी शुल्कहरूमा ५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । कुमारी बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।