राष्ट्र बैंकले बाँड्यो नयाँ नोट, कुनलाई कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्न शुरु गरेको छ । राष्ट्र बैंकले दशैंका लागि भनेर बैंकहरुलाई नयाँ नोट उपलब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवती नेपालले बताए । बुधबारदेखि बैंक तथा वित्तीय संस्थार्ला नयाँ नोट उपलब्ध गराएको उनले बताए । बुधबारदेखि ‘क’ वर्गका वाणिज्य बैंकलाई १० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकलाई ५ करोड रुपैयाँ र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ३ करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराएको उनले बताए । बजारको माग अनुसार नयाँ नोट बाड्ने तयारी राष्ट्र बैंकको रहेको भएपनि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने स्टमेट रहेको उनको भनाइ छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराइसकेको भएपनि सर्वसाधारणले भने भदौ २९ गतेदेखि मात्रै पाउने उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले भदौ २९ गतेदेखि असोज १४ गतेसम्म सर्वसाधारण जनतालाई नयाँ नोट बाड्ने छन् । साथै राष्ट्र बैंकमा खाता रहेकालाई राष्ट्र बैंकबाट नयाँ नोट उपलब्ध गराइने उनले बताए । सर्वसाधारण एक व्यक्तिलाई भने १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको उनले बताए ।
२४ बैंकका सीईओलाई नागरिक लगानी कोषले भन्यो : बजार नियमअनुसार चल्नुहोस्, ब्याज बढ्नुपर्छ
काठमाडाैं। बैंकहरुको पछिल्लो भूमिकाप्रति असन्तोष प्रकट गर्दै आएको नागरिक लगानी कोषले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई खुला बजारको नियम अनुसार चल्न सुझाव दिएको छ । गत साउन ३० गते बैंकर्स संघले संस्थागत निक्षेपकर्ताको व्याज घटाएर ९.०३ प्रतिशत मात्र दिने निर्णय गरेपछि संस्थागत निक्षेपकर्ताहरु बैंकर्ससँग आक्रोसित भएका छन् । भदौ २२ गते कोषले आयोजना गरेको एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण कुमार नेपालले बैंकर्स संघले भदौ ३० गते गरेको निर्णयप्रति असन्तोष जनाएका थिए । कार्यकारी निर्देशकले खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे बताएका हुन् । ‘वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी’ छलफल कार्यक्रममा २६ वटा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निम्ता गरेपनि २४ जना सहभागी भएका थिए । बैंकर्सहरुले बैकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नु पर्नेमा जोड दिए । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले वजारमा देखिएको तरलता समस्या समाधान गर्न कोषले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । जवाफमा कोषका कार्यकारी निर्देशक नेपालले कोषमा बचत गर्नेहरुबाटै ८० प्रतिशतसम्म ऋण सापटीको माग बढि रहेको बताए । ‘तपाईहरुले संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने निर्णय गर्नु भयो । कोषमा बचत गर्नेहरुले ८० प्रतिशतसम्म कर्जा माग गर्न थालेका छन् । आवास तथा सरल कर्जाको मागमा उच्च बृद्धि भएको छ । बिभिन्न बँैकहरुबाट जारी गर्ने डिबेन्चर निस्काशनमा बृद्धि हुन थालेको छ । हामीसँग पनि पैसाको अभाव छ’ नेपालको भनाई उदृत गर्दै एक बैंकर्सले बताए । बैंकहरुले जारी गरेको ऋणपत्रमा ११ प्रतिशतसम्म व्याज पाएको अवस्थामा ९.०३ प्रतिशतमा मुद्दती खातामा पैसा राख्नु कोषका लागि घाटाको व्यापार उनले उनले बताएका थिए । उनले कुटनीतिक तरिकाले निक्षेपको व्याजदर वृद्धि गर्न बैंकर्ससँग आग्रह गरेका थिए । कार्यकारी निर्देशक नेपालले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैँया रहेको र १ खर्ब ९४ अर्ब रुपैयाँ २६ वटा बैंकको मुद्दती खातामा लगानी रहेको जानकारी दिएका थिए । कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखेको थिए । सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्युनीकरण गर्नेतर्फ विशेष जोड दिनुपर्ने खाँचोे औल्याएको कोषद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषको कार्यकारी प्रमुखहरुले एक साताअघि अर्थसचिव कृष्णहरि पुस्करसँग भेटी व्यक्तिगत र संस्थागत भनि व्याजदरमा गरिएको विभेद अन्त्य गर्न माग गरेका थिए । साथै बीमा कम्पनीहरुले पनि संस्थागत निक्षेपकर्तालाई कम व्याज दिने बैंकर्सको नीतिको आलोचना गर्दै आएका छन् ।
च्यानल फाइनान्सिङ्ग कर्जा दिन नबिल बैंक र युनिलिभर नेपालले गरे सम्झौता
काठमाडौं । नबिल बैंक र युनिलिभर नेपालबीच च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सहकार्य भएको छ । नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ्ग सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो । यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल फाइनान्सिङ्गको रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैंभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ्ग कर्जा उपभोग गर्न पाउने छन् । च्यानल फाइनान्सिङ्गका प्रमुख आर्कषण अन्तर्गत च्यानल फाइनान्सिङ्गले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै, व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ । युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि च्यानल फाइनान्सिङ्ग सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।