काठमाडौंको सुन्दरबस्ती भङ्गालमा एभरेष्ट बैंककाे ११९ औं शाखा
काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ । बैंकले मंगलबार उक्त शाखाको उद्घाटन गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे । बैंकले आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
तीन वर्षमा विदेशी कम्पनीले लगे ६६ अर्ब लाभांश, सबैभन्दा बढी सूचना प्रविधिबाट, कुन क्षेत्रबाट कति बाहिरियो ?
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका अनुसार विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लिएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा लगानी गरेवापत बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेवापत् सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । सोही वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत ६ अर्ब ७४ करोड ७० लाख, विद्युतीय उपकरणमा लगानी गरेवापत् ३ अर्ब ८१ करोड ६० लाख, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेवापत् ८६ करोड ८० लाख, शिक्षा क्षेत्रमार्फत् ३० करोड ३० लाख र अन्य क्षेत्रबाट ३५ करोड ७० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिएको हो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल १२ अर्ब ९० करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको छ । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ५२ करोड ७० लाख रुपैयाँ बाहिरिएको छ । सोही वर्ष बैंक तथा बीमा क्षेत्रमार्फत् ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, शिक्षामार्फत् ३४ करोड ७० लाख, विद्युतीय उपकरणमार्फत ३ करोड २० लाख, निर्माण क्षेत्रमार्फत् ५ करोड, खाद्य सेवामार्फत् ४ करोड २० लाख र अन्य क्षेत्रमार्फत् ९ करोड ७० लाख रुपैयाँ लाभांश विदेशिएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । सो आर्थिक वर्षमा पनि सबैभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा लगानी गरेवापत बढी लाभांश विदेश फिर्ता भएको छ । सो वर्ष सूचना प्रविधिमा लगानी गरेवापत मात्रै १२ अर्ब ५४ करोड १० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीहरुले फिर्ता लिएका छन् । सोही आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत् पनि ९ अर्ब ७७ करोड ९० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीले फिर्ता लिएका छन् । तीन आर्थिक वर्षको गणना गर्दा विदेशी लगानीका कम्पपनीहरुले कुल ६६ अर्ब ७६ करोड २० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । यो अवधिमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट बढी पैसा बाहिरिएको छ । सम्बन्धित सामग्री : एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?
महालक्ष्मी विकास बैंकले दियाे ५० हजारकाे नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती
काठमााडौं । महालक्ष्मी विकास बैंकले कैलालीस्थित श्री त्रिनगर माध्यामिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । बैंकका धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले एक कार्यक्रममा जोशीलाई ५० हजार बारबरको छात्रवृत्ति प्रदान गरेका हुन् । अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग स्वरुप बैंकले छात्रवृत्ती प्रदान गरेको जनाएको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व। नवराज बहादुर सिंहको स्मृतिमा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती स्थापना गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापनका अध्यक्ष प्रेम बिसीले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने बताएका थिए । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ । बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।