काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विदेशी मुद्रा सञ्चिती १२ करोड डलर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनामा विदेशी मुद्रा सञ्चिती १२ करोड डलर घटेको हाे ।
२०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिती रहेकोमा साउनमा ९ अर्ब ४२ कराेड डलर कायम भएकाे हाे । यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा साउन मसान्तमा ०.७ प्रतिशत घटेर १० खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ छ । यसअघि असार मसान्तसम्म राष्ट्र बैंकसँग १० र्ख ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशत घटेर साउनमा १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यसअघि असारमा बैंक तथा वित्तीय संस्थामा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।