राष्ट्र बैंकले बढायो संस्थागत निक्षेपको ब्याज

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपकर्ताको ब्याजदर बढाएको छ । मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले मुद्दतीतर्फको संस्थागत निक्षेपकर्ताको ब्याजदर १ प्रतिशत बढाएको हो । मुद्दती खातामा रकम जम्मा गर्दा संस्थागत र व्यक्तिगत खाताको ब्याजदर अन्तर अब १ प्रतिशत कायम राख्नु पर्ने व्यवस्था गरेको हो । यसअघि संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अन्तर २ प्रतिशत थियो । ‘संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ,’ राष्ट्र बैंकको समीक्षामा उल्लेख छ । यसले संस्थागत मुद्दती निक्षेपकर्तालाई बैंकहरूको निक्षेपमा लगानी गर्न प्रोत्साहन गर्नेछ ।

मौद्रिक नीतिको समीक्षा : यस्ता छन् ५ नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । जसमा राष्ट्र बैंकले खासै ठूलो नीतिगत परिवर्तन गरेको छैन । यस्ता छन् नयाँ व्यवस्था: -आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ । -अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । -ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ । -संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ । -कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।

यस्तो आयो मौद्रिक नीतिको समीक्षा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको दोश्रो त्रैमासिक अर्थात अर्द्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले समीक्षा पारित गरेसँगै सार्वजनिक भएको हो । [pdf id=463572]