महालक्ष्मी विकास बैंकले १०.९९ प्रतिशतमा कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले सस्तो व्याजदरमा ऋण योजना ल्याएको छ । बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायीक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) माआकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको हो । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ । तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैंकले जनाएको छ । साथै आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिनेछ । उक्त योजना अनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधि सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ । त्यसै गरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमईमा दुई हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलमा दुई हजार रुपैयाँमा नै आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने भएको छ । क्यापिटलले मंगलबार देखि लागु हुने गरी हितग्राही खाता र मेरो सेयरको आजिवन नविकरण गर्ने नयाँ योजनाको शुभारम्भ गरेको छ । बैंकका अनुसार ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको नेपालभरको शाखा कार्यालयहरुबाट यो योजना सञ्चालन हुने र हितग्राही खाता खोलिसकेका एवं अब उप्रान्त नयाँ खाता खोल्ने हितग्राहीहरुको लागि डिम्याट र मेरो सेयर खाता खोल्दा एकमुष्ठ २ हजार जम्मा गरी बाँचुञ्जेल आजिवन नविकरण गरिरहनुपर्ने झन्झटबाट मुक्त भई यस योजनाबाट लाभान्वित हुन सकिनेछ । हाल हितग्राही खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरुले प्रत्येक वर्ष क्रमशः १०० रुपैयाँ र ५०रुपैयाँ भुक्तानी गरी नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । यदि ग्राहकले प्रत्येक वर्ष नविकरण नगरेको अवस्थामा हितग्राही खाता फ्रिज भई दोस्रो बजारमा कारोबार गर्न नसकिने एवं मेरो शेयर नविकरण हुन नसकेमा अनलाइन प्रणाली प्रयोग गर्न नपाउने विद्यमान व्यवस्था रहेको सन्दर्भमा ग्राहकहरुको हित र सुविधालाई मध्यनजर गरी क्यापिटलले यस्तो सुविधा ल्याएको हो । यस योजनामा एकपटक २ हजार रुपैयाँ जम्मा गरी योजनामा आबद्घ हुन सकिनेछ । साथै, ३ वर्षभित्र हितग्राही खाता बन्द गर्नुपरेमा २०० रुपैयाँ कट्टा गरी एक हजार ८०० रुपैयाँ फिर्ता, ३ वर्ष वर्षपछि हितग्राही खाता बन्द गरेमा सम्पूर्ण रकम २ हजार फिर्ता गरिने र योजनामा आबद्घ हितग्राहीले पिएमएस सेवा लिन चाहेमा ५० प्रतिशत शुल्क छुट पाइने बैंकले जनाएको छ । साथै, यस अघि मिति २०७८ साउन १४ गतेदेखि लागु रहेको आजिवन डिम्याट खाता र मेरो सेयर सेवा सञ्चालन सम्बन्धी योजनालाई बन्द गरी ग्राहकहरुको लागि अझ बढी सरल बनाउँदै परिष्कृत तथा परिमार्जित गरी यो नयाँ योजना सञ्चालन गरिएको छ ।

कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने समाचारप्रति एनआईसी एशिया बैंकको ध्यानाकर्षण

काठमाडौं । एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकका अनुसार हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति ध्यानाकर्षण भएको हो । ‘नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको क्यापीटल एडुकेसी फ्रेमर्वोक २०१५  मा उल्लेखित रिक्स वेट क्लासीफीकेसन सम्बन्धी व्यवस्थाहरू मध्ये क्लेम सेक्युर बाइ रेजीडेन्टल प्राेपरटीज भित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा आफ्नो बुझाई अनुरुप वर्गीकरण गरी सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष रिपोर्टिङ गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा क्लेम सेक्युर बाइ रेजीडेन्टल प्राेपरटीज सम्बन्धमा बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई च्भउयचतष्लन गरिसकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साथै यस विषय वाहेक बैंकले रियल स्टेट सेक्टरमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य, तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै रियल स्टेट सेक्टरमा बैंकले आफ्नोे कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा यस बैंकले २०८० पौष मसान्तसम्ममा १० दशमलव १४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।