एनपीएल बढे पनि अर्थतन्त्र लयमा जाँदैछ, कर्जा असूलीमा सुधार हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) बढेपनि अर्थतन्त्र सुधारको लयमा रहेको राष्ट्र बैंकले बताएको छ । मौद्रिक नीतिको चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामा राष्ट्र बैंकले खराब कर्जा पौने ४ प्रतिशत पुगेपनि सुधारको अवस्थामा रहेको बताएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भई खराब कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असूलीमा समेत सुधार आउँदै जाने राष्ट्र बैंकको भनाइ छ ।

नीतिगत र बैंकदर यथावत

काठमाडौं । राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई यथावत राखेको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको बताएको हो । ‘आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ,’ समीक्षामा भनिएको छ । हाल बैंकदर ७ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशत छ ।

फागुनदेखि एसएलएफ सुविधा लागू हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधा (एसएलएफ)लाई कार्यान्वयनमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ,’ समीक्षामा भनिएको छ ।