काठमाडौं । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्वका सार्वजनिक बिदाका समयमा हुन सक्ने साइबर ठगी तथा अनलाइन स्क्याम नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको छ ।
सार्वजनिक बिदाका समयमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटना नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न भनेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले साइबर ठगीका घटना हुँदा कारोबार विवरण समयमै उपलब्ध गराउने, शंकास्पद खाता तथा कारोबार पहिचान गर्ने र आवश्यक परे तत्काल रोक्का गर्ने प्रक्रियालाई सहज बनाउनुपर्नेछ ।
यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी निजको नाम, पद र मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ । साथै, सार्वजनिक बिदाका समयमा समेत चौबीसै घण्टा निगरानी हुने ड्युटी वा अनकल इमेल ठेगाना पनि उपलब्ध गराउनुपर्ने छ । सम्पर्क व्यक्तिको विवरण नेपाल प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्नेछ ।
चाडपर्वका समयमा मोबाइल बैंकिङ, डिजिटल वालेट तथा अन्य विद्युतीय भुक्तानी माध्यम प्रयोग गर्दा उपभोक्ताले पनि सावधानी अपनाउनुपर्नेछ ।