बाढी प्रभावित ऋणीलाई राहत, बैंकको किस्ता तिर्ने म्याद पुस मसान्तसम्म थप्न पाइने

काठमाडौं । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीलाई नेपाल राष्ट्र बैंकले राहत दिने भएको छ । बाढीका कारण आम्दानी र नगद प्रवाहमा असर परी कर्जाको किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्ने समय २०८३ पुस मसान्तसम्म थप गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्न बाटो खुला गरेको हो । नयाँ व्यवस्थाअनुसार भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रत्यक्ष प्रभावित उद्यम, परियोजना तथा व्यवसायका ऋणीले राहत पाउन सक्नेछन् ।

त्यस्तै, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय र बाढीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणी पनि यस व्यवस्थाको दायरामा पर्नेछन् । 

सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको वास्तविक वित्तीय अवस्था विश्लेषण गरेपछि मात्रै म्याद थप गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशनमा रसुवा भन्सार नाकाबाट हुने आयात तथा निर्यातमा आधारित व्यवसायलाई समेत स्पष्ट रूपमा समेटिएको छ । यसले बाढीबाट प्रत्यक्ष प्रभावित क्षेत्रका व्यवसायसँगै उक्त नाकामार्फत कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको कारोबार गर्ने व्यवसायको अवस्थालाई पनि मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरेको छ ।

Share News