काठमाडौं । एनएमबी बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ ।
व्यावसायिक संस्थाले प्रयोग गर्दै आएका सफ्टवेयर तथा डिजिटल प्रणालीबाटै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौतापछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकले आफ्नै बैंकिङ प्रणालीभित्रबाट रकम भुक्तानी, हिसाब मिलान तथा अन्य बैंकिङ कारोबार गर्न सक्नेछन् । यसले कारोबारलाई छिटो र सहज बनाउनुका साथै समय बचत गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।
त्यस्तै, साना तथा मझौला व्यवसायीले पनि व्यापारिक केन्द्र तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। उक्त सुविधा निकट भविष्यमा सञ्चालनमा ल्याउने तयारी रहेको बैंकले जनाएको छ।
यस सहकार्यले व्यावसायिक कारोबारमा हुने अनावश्यक झन्झट कम गर्नुका साथै डिजिटल माध्यमबाट वित्तीय सेवा प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
एनएमबी बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।