काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको जुम्लास्थित पातारासी गाउँपालिका–७, रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरेको हो ।
बैंकको जुम्ला शाखामार्फत विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडोमा विद्यालय आउन सहज बनाउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ ।
यस पहलले ग्रामीण क्षेत्रका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ । बैंकका अनुसार हाल २० लाख ७८ हजारभन्दा बढी ग्राहकले यसका बैंकिङ सेवा उपयोग गरिरहेका छन् ।