गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समेटेर लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको बैंकले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।

गरिमा विकास बैंकले देशभरका १२६ शाखा कार्यालय, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Share News