सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरेको छ । कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत आर्थिक र सामाजिक रूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । विद्यालयले शैक्षिक सामाग्री वितरणलाई एक उदाहरणीय रूपमा लिएर सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
बैंकहरूले ७/८ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने अवस्था छैन : सीईओ ढुंगाना
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा परेकाले आगामी वर्षमा लाभांश घट्न सक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा सीईओ ढुंगानाले आगामी वर्षमा बैंकहरूले ७/८ प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने अवस्था नरहेको बताएका हुन् । ‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो । आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ । रिटर्न अन इक्वीटी कति छ । लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ ।’ रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए । साथै, पछिल्लो समय कर्जा रिकोभरीमा समस्याले बैंकहरुको एनपीएल बढेको बताए । तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ । आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले बताए । ‘अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ । कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन ।’ परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगाना बताउँछन् । अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जादा बैंकिङ सेक्टर पनि राम्रो बन्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ ।’
कुनै एउटा सूचकमा गिरावट आउँदैमा बैंक डुब्दैनन् : डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोेर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन्। त्यसैले यो क्षेत्रलाई सवेदशील मानिन्छ’, उनले भने, ‘बैंकहरुले निक्षेपकर्ताको करिब ६२ खर्बको निक्षेप बोकेर बसेका छन् । यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन ।’ कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने बताए । त्यसकारण यस्ता सवेदनशील क्षेत्रको बारेमा कुनै समाचार प्रवाह गर्दा निक्षेपकर्ताको विश्वासलाई ख्याल गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय कुनै बैंकको एक एउटा सूचकलाई हेरेर संस्था नै डुब्न लागेको भन्ने सूचना सम्प्रेषण हुँदा त्यसको खण्डन गर्न केन्द्रीय बैंकले विज्ञप्ति नै जारी गर्नुपरेको उनले बताए । अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) सहज अवस्थामा रहेको मिश्रले बताए । ‘अहिले बैंकहरु तरलताको सहज अवस्थामा छन् । तरलतालाई हेर्दा बैंकहरु सहज अवस्थामा हुँदा बैंकहरुको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन’, उनले भने, ‘त्यसैले यस्तो संवेदनशील क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ ।’ पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सबै क्षेत्रको मनोबल घटेको छ । ब्याजदर घट्दो अवस्थामा हुँदा विस्तारै कन्फिडेन्स बढाउनुपर्ने देखिन्छ । केन्द्रीय बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले यस क्षेत्रमा जाने कर्जा बढ्ने र कन्फिडेन्ट बढ्ने उनले बताए । बढ्दो रेमिट्यान्स र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको मिश्रले बताए ।