धितोभन्दा एक अर्ब बढी ऋण, यी १० बैंकरलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धितोको मूल्यांकनभन्दा करिब एक अर्ब बढी कर्जा प्रवाह गरेको भन्दै १० जना बैंकरलाई पक्राउ गरेको छ । बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीको टोलीले १० जना कर्मचारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डीसीईओ), तत्कालिन सेञ्चुरी बैंकका सीईओ तुलसी गौतमसहित राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत रहेका छन् । मंगलबार एकैदिन पक्राउ परेका यी १० जनालाई सीआईबीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरि बैंकिङ् कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कसूरमा अनुसन्धान गरिरहेको छ । ‘कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्याङ्कन रु. १,१४,२३,८४,२५८.३० (एक अर्ब चौध करोड तेइस लाख चौरासी हजार दुइ सय अनठाउन्न रुपैयाँ तिस पैसा मात्र) धितो बापत कर्जा प्रवाह भएको रकम रु. २,११,६५,५५,७३१ (दुई अर्ब एघार करोड पैसठ्ठी लाख पचपन्न हजार सात सय एकतीस रुपैयाँ मात्र) धितोको मूल्यांकन भन्दा अधिक कर्जा प्रवाह भएको रकम रु. ९७,४१,७०,७७२.७ (अक्षेरुपी सन्तानब्बे करोड एकचालीस लाख सतरी हजार सात सय बहतर रुपैयाँ सतरी पैसा मात्र) प्रवाह गर्ने कार्यमा संलग्न प्रबन्ध निर्देशकसहित १० जना कर्मचारीलाई पक्राउ गरिएको,’ सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई २ अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकले चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनी (पुजा ट्रेडिङ्ग एण्ड मार्केटिङ्ग कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पुजा मार्केटिङ्ग प्रालि र अन्नपूर्ण डिष्टिलरी) लाई धितोबापत सो रकम बराबरको कर्जा प्रवाह गरेको बताइएको छ । यी १० जनालाई अदालतले सात दिन हिरासतमा राख्न अनुमति पनि दिएको छ । सम्बन्धित सामाग्री : रविन्द्र चौलागाईंलाई दिएको २ अर्ब ऋणले एक दर्जन बैंकरको हातमा हतकडी रविन्द्र चौलागाईंको ४ बैंकमा ३ अर्ब ६८ करोड ऋण, कुन बैंकको कति ?

सिनियर डीसीईओ पक्राउ पर्दा बैंकका लगानीकर्ता शान्त, सेयर बजारमा शून्य प्रभाव

काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसहित प्रभु बैंकमा मर्ज भएका तत्कालिन सेन्चुरी बैंकका विभिन्न १० जना पक्राउ परे । बैंकका सिनियर डीसीईओ न्यौपाने पक्राउ परेको खवरले दिनभर वित्तीय क्षेत्र ततायाे  तर पनि यसको असर सेयर बजारमा भने खासै परेन । बजारमा प्रभुको सेयर मूल्य सामान्य अर्थात १.२० रुपैयाँले घटेको छ । प्रतिकित्ता १४९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बजार बन्द हुँदा २ रूपैयाँले घटेर प्रतिकित्ता १४७ रुपैयाँमा काराेबार बन्द भयो । प्रभुको सेयर भाउ अधिकांश बैंकको तुलनामा सस्तो हो भने कुमारी बैंकको तुलनामा महंगो हो । यसअघि प्रभुको सेयर प्रतिकित्ता न्यूनतम १४६ रुपैयाँसम्ममा कारोबार भएको थियो । बैंकले यस वर्ष वार्षिक साधारणसभा पनि गर्न बाँकी छ ।बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी रहेको स्रोतले बतायो । मंगलबारको बजारमा प्रभु बैंकको ७७ हजार ९४३ कित्ता सेयर एक करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ । समग्रमा मंगलबारको सेयर बजार ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा पुगेको छ । तर कारोबार रकम भने घटेर एक अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा दुई अर्बमाथिको सेयर कारोबार भएको थियो । मंगलबार बोटलर्स नेपाल (बालाजु) र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/ १० प्रतिशतले बढेको छ । त्यस्तै, सामलिङ पावरको सेयर मूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ । बजारमा सबैभन्दा बढी सेयर मूल्य घट्नेको शीर्ष स्थानमा चिर्ख्वा हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ५.०६ प्रतिशतले घटेर प्रतिकित्ता ६०२.९० रुपैयाँमा झरेको छ ।

रविन्द्र चौलागाईंको ४ बैंकमा ३ अर्ब ६८ करोड ऋण, कुन बैंकको कति ?

काठमाडौं । सहकारीका बचतकर्ताको तीन अर्ब रुपैयाँ रुपैयाँ हिनामिना गरेर अहिले हिरासतमा रहेका रविन्द्र चौलागाईंले विभिन्न बैंकसँग साढे ३ अर्ब बढी ऋण लिएको भेटिएको छ । देउराली बुहउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनले आफ्ना विभिन्न कम्पनीहरूका लागि चार वटा वाणिज्य बैंकबाट तीन अर्ब ६८ करोड रुपैयाँ ऋण लिएको भेटिएको हो । स्रोतका अनुसार उनले सबैभन्दा बढी ऋण प्रभु बैंक (तत्कालीन सेञ्चुरी कमर्सियल) बाट लिएको देखिएको छ । उनले यस बैंकबाट २ अर्ब ४० करोड रुपैयाँ ऋण लिएका छन् । सोही ऋणले अहिले तत्कालीन सेञ्चुरी बैंकमा कार्यरत कर्मचारीको हातमा हतकडी लागेको छ । अहिले प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका मनोज न्यौपाने र तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई ऋण हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रिय अनुुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उनीहरूले कम मूल्यको धितो राखेर चौलागाईंलाई बढी ऋण दिएको आरोप छ । त्यसको अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । बचतकर्ताको बचत ठगीको आरोपमा हिरासतमा रहेका चौलागाईंले तत्कालीन मेगा र हालको नेपाल इन्भेष्टमेन्ट बैंकबाट पनि ७० करोड रुपैयाँ ऋण लिएको भेटिएको छ । चालागाईं बैंकरलाई आफ्नो ठूलो व्यवसाय रहेको भन्दै प्रभावमा पारेर बैंकबाट ऋण लिने गर्थे । उनको प्रलोभनमा परेर बैंकरले कमजोर धितोमा अधिकतम् ऋण दिएको बुझिएको छ । यस्तै, उनले एनआईसी एसिया बैंकबाट पनि ४० करोड रुपैयाँ ऋण लिएका छन् । तर, सो ऋण पनि बैंकले उठाउन सकिरहेको छैन । हाल बैंकले सतप्रतिशत प्रोभिजन गर्नु पर्ने बाध्यता छ । चौलागाईंले माछापुच्छ्रे बैंकबाट पनि १८ करोड रुपैयाँ ऋण लिएका छन् । माछापुच्छ्रे बैंकले आफ्नो कर्जा असुल भइसकेको बताएको छ । उनले सिटिजन्स बैंकबाट पनि २५ करोड रुपैयाँ ऋण लिएको भए पनि बैंकले भने सो ऋण असुल गरिसकेको बताएको छ । उनले साढे ३ अर्ब रुपैयाँ ऋण लिएर एक दर्जन कम्पनीमा लगानी गरेको स्रोतको भनाइ छ । उनले ती बैंकहरूमा कमजोर धितो राखेर ठूलो परिमाणमा ऋण लिएका छन् । अहिले ती बैंकहरू ऋण असुल गर्न नसकेर समस्यामा छन् भने सतप्रतिशत रकम प्रोभिजन गर्नु पर्ने अवस्थामा बैंकहरू छन् । धितो लिलामी गरेर पनि कर्जा रकम असुल गर्न नसक्ने अवस्थामा बैंकहरू देखिएका छन् । चौलागाईंले ३ अर्ब रुपैयाँ बचतकर्ताको र साढे तीन अर्ब रुपैयाँ बैंकको गरेर साढे ६ अर्ब रुपैयाँ तिर्नु पर्ने देखिन्छ । उनी कर्जा सूचना केन्द्रको पनि कालोसूचीमा छन् ।