अधिकांश पीएसपी र पीएसओ घाटामा छन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकांश पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) घाटामा रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक कन्भर्सेसन मा बोल्दै उनले सो बताएका हुन् । ‘राष्ट्र बैंकबाट इजाजत पाएका अधिकांश पीएसपी र पीएसओ घाटामा चलिरहेका छन्,’ उनले भने । राष्ट्र बैंकले डिजिटललाई जोड दिइरहेको बताउँदै गभर्नर अधिकारीले फिनटेकले यसलाई थप विस्तार गर्न भूमिका निर्वाह गरेको बताएका छन् । ‘कुनै बेला चेक साट्न वा सेटलमेण्ट हुन महिना दिन लाग्थ्यो । दार्चुलाको चेक त झन् बढी समय लाग्थ्यो । तर अहिले धेरै परिवर्तन भएको छ,’ उनले भने । साथै, उनले अर्थतन्त्रलाई डिजिटल बनाउन नीतिगत सुधार गर्नुपर्ने भएमा राष्ट्र बैंकलाई सुझाव दिन आग्रह गरेका छन् । त्यस्तै, गर्भनर अधिकारीले व्यक्तिहरुले आफ्नो पासवर्डदेखि आफ्नो गोपनियतामा ध्यान दिन नसक्दा सिस्टमलाई दोष दिने चलन रहेको समेत बताए । ‘अब क्रस बोर्डर डिजिटल कारोबार गर्न सक्ने गरि भारतमा पनि क्यूआरको माध्यमबाट कारोबार गर्न सकिनेछ । एक डेढ महिनाभित्र कारोबार गर्न सकिने गरि काम गरिरहेका छौं । नेपालको प्रविधि विदेश लैजान पहल भइरहेका छन् । नेशनल आइडिलाई डिजिटल कार्ड बनाउन राष्ट्र बैंकको सुझाव छ,’ कार्यक्रममा बोल्दै गभर्नरले भने । पर्यटकहरूलाई डिजिटल कारोबारका लागि पर्यटन मन्त्रालय र विभागसँग छलफल भइरहेको बताउँदै गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै अस्थायी रूपमा पर्यटकहरूलाई निश्चित अवधिका लागि क्यूआर कोड दिने तयारी थालिएको जानकारी गराए । त्यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकको गुनासो पोर्टलमा आउने गुनासाहरुमध्ये ९८ प्रतिशत सेटल भइसकेको बताउँदै भने- ‘पछिल्लो समयमा लघुवित्त र बैंक सम्बन्धी गुनासो धेरै आएका छन् । विदेशको तुलनामा नेपालमा डिजिटल कारोबारको शुल्क न्यून छ तर यसैसम्बन्धी गुनासो धेरै आउने गरेका छन् ।’  

गजलकारपछि बैंकर बनेका गिरी, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले ल्याएको थियो चर्चामा

काठमाडौं ।  गीतकार शीतल गिरी अर्थात् ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ गजलका लेखक । कुनै समय अधिकांश गजलप्रेमीको ओठमै झुण्डिएको यो गीतपछि गिरी कहाँ होलान् ? के उनको सिर्जना यात्रा ब्रेक लाग्यो कि के भयो होला ? हुन त कुनै पनि गीत/गजल जति चले पनि सर्जकको चर्चा कमै हुन्छ । तर, त्यो बेलामा गिरी भने आफूलाई त्यसबाट केही हदसम्म मुक्त राख्न सफल भएका थिए । विसं २०६७ वैशाखमा सार्वजनिक उक्त गजलले गायक प्रमोद खरेलसँगै सर्जकका रूपमा गिरीलाई पनि उचाइ दियो । सङ्गीतकार महेश खड्का पनि सो गजलबाट सफलताको अर्को सिँढी चढे । गायक प्रमोद खरेल देशविदेशका जुनसुकै मञ्चमा पुग्दा नछुटाइ गाउने गजल हो ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ पोखरेलीले मात्र नभई हर कोही सङ्गीत पारखीले आफ्नो प्रिय गजलका रूपमा यसलाई लिन्छन् । युवा पुस्तामाझ त झनै लोकप्रिय छ । भौगोलिक सामिप्यताको मनोविज्ञानले पनि गजललाई श्रुतिमय बनाएको छ । यो गजल गिरीले काठमाडौंमा स्नातकोत्तर अध्ययनरत रहँदा रचना गरेका थिए । ‘२०६२/०६३ मा अध्ययनका सिलसिलामा काठमाडाैंमा थिएँ, कीर्तिपुरमा बस्थेँ, बाटोमा हिँड्दाहिँड्दै गजलको दुई शेर फुर्‍यो, कोठामा पुगेर गजललाई पूर्णता दिएँ’, उनले भने, ‘पहिलोपटक जन्मथलो छोड्दा एक किसिमको उदासी र छटपटीजस्तो मनमा थियो, पोखराको खुब याद आइरहन्थ्यो, त्यही भावभूमिका यो गजल तयार भएको हो ।’ काठमाडाैं छँदा गीतकार विपीन किरणलगायतसँग उनको सङ्गत थियो । उपत्यकामा हुने साहित्यिक गोष्ठीमा गिरीले भाग लिन थाले । एकदिन अनाममण्डलीमा सोही गजल सुनाउँदा गिरीले वाहीवाही बटुले । गजलको प्रशंसा भयो । साथी/शुभेच्छुकले गजल रेकर्डका लागि उनलाई प्रेरित गरे । काठमाडाैंमै रहँदा सङ्गीतकार महेश खड्कासँग पनि गिरीको चिनापर्ची भइसकेको थियो । स्नातकोत्तरको पढाइ सकेर गिरी विसं २०६४ मा पोखरा फर्किए । सोही वर्ष पोखरामा भएको चलचित्र महोत्सवमा भाग लिन काठमाडाैंदेखि सङ्गीतकार महेश खड्का, गीतकार विपीन किरणलगायत पोखरा आएका थिए । पोखरा आएका बखत उनीहरू पोखरा महानगरपालिका-२४ कास्कीकोटस्थित गिरीको घरमा पुगे । साँझपखको जमघटमा गिरीले लेखेको गजलबारे गीतकार विपीन किरणले प्रसङ्ग उप्काए । सोही माहोलमा गिरीले सुनाए, ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…।’ ‘मेरो गजल मन पराएर सङ्गीतकार महेश खड्का दाइले तत्क्षण नै टेबलमा हात ठटाएर पहिलो धुन तयार पार्नुभएकाे थियाे’, गिरीले विगत कोट्याए, ‘महेश दाइले सुरुमा चलचित्रलाई भनेर सङ्गीत तयार गर्नुभएको थियो, तर पछि प्रमोद खरेल दाइको प्रणय एल्बममा गजल समावेश भयो ।’ उक्त गजलले नसोचेको चर्चा र सफलता पाएको गिरीको भनाइ छ । गजलले युट्युबमा पनि लाखौँ ‘भ्युज’ पाएको छ । सुरुवातमा रेडियोमा सर्वाधिक बज्ने गजलमध्येमा पर्थ्यो । ‘त्यसपछि पनि मेरा गीत, गजल रेडर्क भए तर त्यो जति सफल हुन सकेनन्’, उनले भने, ‘स्रोता, पाठकले सिर्जनामा पुनः सशक्त ढङ्गले मेरो पुनरागवमन होस् भन्ने चाहिरहनुभएको छ, म अहिले त्यसकै लागि सङ्घर्षरत छु, मेरो गीत लेखनको यात्रा रोकिएको छैन, अहिले पनि हप्तामा एक/दुई वटा गीत, गजल लेखिरहेको हुन्छु ।’ उमेरले ४० कटेका गिरीको पहिलो गीत ‘केही छैन दिउँ भने गरिबीले झनै रित्तिएँ…’ विसं २०५८ मा रेकर्ड भएको थियो । जसमा विनोद बानियाँको सङ्गीत र विमल पराजुलीको स्वर छ । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरा…’ उनको दोस्रो रेकडेर्ड सिर्जना हो । त्यसयता पनि उनका कैँयन गीत/गजल सार्वजनिक भएका छन् । कतिपय रेकर्ड हुने चरणमा छन् । गिरीको विसं २०७६ मा मुक्तक सङ्ग्रह ‘सालिक’ सार्वजनिक भएको थियो । गीत, गजल र मुक्तक लेखनमा सिद्धहस्त उनी पेसाले बैंकर्स हुन् । जागिरे जीवन सुरु भएदेखि सिर्जनकर्म केही सुस्ताएकामा भने गिरी सहमत छन् । ‘जागीरले कहीँ न केही बन्धन राख्छ, जिजीविषाका लागि काम नगरी पनि भएन, तर यसले सिर्जनशीलता खुम्चाउँदोरहेछ, चाहेर पनि भनेजति समय दिन सकिन्न’, उनले भने, ‘फेरि यसमा मलाई कुनै कुण्ठा छैन, व्यावसायिक रूपमा मेरा थोरै मात्र सिर्जना चले पनि म सन्तुष्ट छु ।’ उनले गीत लेख्नु आफ्ना लागि एक किसिमको ‘पागलपन’ भएको बताए । ‘वास्तविक अनुभूतिको तहमा ओर्लेर गीत लेखिरहेको हुन्छु, आनन्दको महसुस हुन्छ, गीत लेख्दा मेरा आँखा टिलपिलाइरहेका हुन्छन्’, गिरीले भने, ‘म बिना कसैकसैलाई… लेख्दा पनि मभित्र एउटा छटपटाहट थियो, त्यसैलाई इमान्दारपूर्वक गजलमा उतारेँ ।’ उनले यात्रा र भेटघाटमा उक्त गजलबारे चर्चा चल्दा सर्जक म हुँ भनेर चिनाउँदा मानिस खुसीले दङ्ग पर्ने गरेको सुनाए । कुनै पनि गीत/गजल चर्चाको शिखरमा हुँदा पनि गीतकार भने छायाँमा पर्ने गरेको गिरीले बताए । ‘कतिपय ठाउँमा त सर्जकको नामै उल्लेख नगरी गीत गाउने चलन छ, त्यसो गर्दा नमिठो अनुभव हुन्छ, कुनै पनि सफल गीतको पहिलो खुड्किलो गीत रचनाबाट सुरु हुन्छ, गीतकारलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने । गीतकार प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका गिरीलाई गीत लेखनसँगै संस्था हाँक्ने जिम्मेवारी पनि छ । प्रतिष्ठानले गीतकारको हकहितबारे वकालत गर्नेदेखि एकल गीत वाचन, गीत लेखन कार्यशालालगायतका काम गर्दै आएको छ । गिरीलाई बैंकको जागिरले केही समयअघि महोत्तरीको बर्दिबास पुर्‍याएको छ । बीस वर्षअघि पोखरा छाडेर काठमाडाैं जाँदा र अहिले बर्दिबास पुग्दाको अनुभूतिजन्य भावमा पक्कै अन्तर छ । जहाँ गए पनि गिरीलाई पोखराको यादले भने हरक्षण पछ्याइरहेको हुन्छ । उनकै गजलले भनेझैँ ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा…।’  रासस

कर्जा नोक्सानीको नयाँ व्यवस्थाले बैंकहरूलाई तनाव, एउटै बैंकको ९ अर्ब बढी प्रोभिजन

काठमाडौं । वाणिज्य बैंकहरूले पुससम्म ४४ अर्ब ९ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन)अन्तर्गत रकम राखेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुससम्म २० वटा वाणिज्य बैंकहरूले सो रकम प्रोभिजन अन्तर्गत राखेका हुन् । राष्ट्र बैंकका अनुसार बैंकहरूको खराब कर्जाको अनुपात बढ्दै जाँदा प्रोभिजनिङ पनि बढ्दै गएको हो । पुस मसान्तसम्म सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा नोक्सानी व्यवस्था अन्तर्गत पैसा राख्नु परेको छ । यस बैंकले ९ अर्ब १७ करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । यस बैंकको पुससम्म कुल ४.७५ प्रतिशत खराब कर्जा छ । यस्तै, पुस मसान्तसम्म कुमारी बैंकले ५ अर्ब ४९ करोड, ग्लोबल आइएमईले ४ अर्ब १३ करोड ६० लाख, लक्ष्मी सनराइजले ३ अर्ब ६९ करोड ८० लाख, नबिलले ३ अर्ब २ करोड ३० लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ९२ करोड ६० लाख र नेपाल बैंकले २ अर्ब ८६करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । यस्तै, हिमालयन बैंकले १ अर्ब ९४ करोड ७० लाख, कृषि विकास बैंकले १ अर्ब ६२ करोड १० लाख, प्रभुले १ अर्ब ४० करोड १० लाख, सानिमाले १ अर्ब १९ करोड ७० लाख, सिद्धार्थले १ अर्ब १८ करोड ४० लाख, एनएमबिले १ अर्ब १५ करोड २० लाख र नेपाल एसबिआई बैंकले १ अर्ब १२ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार सिटिजन्स बैंकले ९४ करोड ८० लाख, एनआइसी एसिया बैंकले ७६ करोड ९० लाख, माछापुच्छ्रे बैंकले ४८ करोड ८० लाख, एभरेष्ट बैंकले ४३ करोड २० लाख, प्राइम कमर्सियल बैंकले ४३ करोड २० लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २४ करोड रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ । बैंकहरूले विभिन्न पाँच क्याटागोरीमा कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । बैंकहरूले असल कर्जामा १.२५ प्रतिशत, सुक्ष्म निगरानी अन्तर्गत ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था छ । कुनै पनि कर्जा निष्कृय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने राष्ट्र बैंकको नीति छ । त्यस्तो कर्जामा १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अन्तर्गत कर्जाको ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने हुन्छ । यस्तै, कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेक अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यावसायिक सम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोही निष्कृय वर्गमा वर्गीकरण गर्नु पर्नेछ । जस्तैः समुहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी रहेका चार ऋणीमध्ये उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नु पर्नेछ । तथापि, कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन । यो व्यवस्थाले बैंकहरूको खराब कर्जा झनै बढ्न सक्ने एक बैंकरले बताए । ‘पछिल्लो समय बैंकहरूको खराब कर्जा बढिरहेको छ, राष्ट्र बैंकले यो व्यवस्था लागू गर्दा बैंकहरूको खराब कर्जा झनै बढ्छ,’ ती बैंकरले भने ।