कामना सेवा विकास बैंकका ग्राहकलाई द एसआर होटेलमा छुट
काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
ज्योति विकास बैंकले सिराहाको श्री आधारभूत विद्यालयलाई दियो डेस्क बेञ्च
काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाद्वारा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, गोलबजार वडा नं। १० का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क बेञ्चहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारी, पूर्व वडा अध्यक्षहरु लगायत विद्यालयका कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको र बैंकको सामाजिक उत्तरदायित्वको कार्य प्रति धन्यवाद ज्ञापन गरे। साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क बेञ्चहरुको व्यवस्था भएसँगै कतिपय विद्यार्थीहरुलाई भुईँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएकोले सहयोगका लागि बैंकप्रति हार्दिक आभार व्यक्त गरे । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
नेपाली बैंक डुब्ने अवस्था छैन : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्था नरहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंकिङ क्षेत्रको विषयमा आएका हल्ला तथा भ्रमलाई चिर्दै उनले भने- ‘सानो झिल्कोले पनि विस्फोट हुन सक्छ, बैंकिङको विषयमा भ्रम फैलाउनु हुँदैन, जोगाउने प्रयासतर्फ लाग्नु पर्छ ।’ साथै, नबुझेकाहरुले बैंकलाई मिटरब्याजी भनेको बताउँदै उनले कुनै तथ्य तथ्यांक बिना मिटरब्याजी भन्न नपाइने समेत बताए । विगत १४ महिनाको आयात धान्ने विदेशिक मुद्रा रहेको बताउँदै उनले यो ठूलो स्ट्रेन्थ हो र राज्यले चाहेको खण्डमा प्रयोग गर्न सक्ने जानकारी गराए । तर, प्रयोग हुन भने नसकेको उनको भनाई छ । ‘बैंकरले सोचेनन्, ऋणीले घाँटी हेरेर ऋण लिनुपर्थ्यो । यसमा बैंकरको पनि दोष छ । हामीले हचुवाको भरमा ऋण दियौं,’ गभर्नर अधिकारीले भने- ‘बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ, यो रियालिस्टिक पिक्चर हो ।’ सहकारीका बचतकर्ता र सञ्चालक बैंकसँग पनि ठोक्किएकाले पछिल्लो समय सहकारीको समस्या बैंकमा ट्रान्सफर भएको बताउँदै उनले सहकारीको नियमनका लागि सेकेन्ड टायर इन्सिच्युट आवश्यक रहेको भनाई राखे । साथै, गभर्नर अधिकारीले पछिल्लो समय निर्माण उद्योग पनि समस्यामा रहेकोले यो क्षेत्रको उद्वार गर्नुपर्ने बताए ।