काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा परेकाले आगामी वर्षमा लाभांश घट्न सक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा सीईओ ढुंगानाले आगामी वर्षमा बैंकहरूले ७/८ प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने अवस्था नरहेको बताएका हुन् ।
‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो । आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ । रिटर्न अन इक्वीटी कति छ । लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ ।’
रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए । साथै, पछिल्लो समय कर्जा रिकोभरीमा समस्याले बैंकहरुको एनपीएल बढेको बताए । तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ । आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले बताए ।
‘अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ । कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन ।’
परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगाना बताउँछन् । अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जादा बैंकिङ सेक्टर पनि राम्रो बन्ने उनको भनाइ छ ।
‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ ।’