रसुवा बाढी : एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीपछि एनएमबि बैंकाको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ८:४५ बजे टिमुरे आसपासमा आएको बाढीपछि शाखामा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित रहेका छन् । उनीहरू सबै टिमुरे शाखामा कार्यरत कर्मचारी हुन् । बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल बैंकलाई जानकारी गराइदिन आग्रह गरेको छ । 

बाढीपीडितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि कुल ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ । यससँगै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँच वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ । हालैको बाढी र प्राकृतिक प्रकोपबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ । कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहयोगले राहत, उद्धार र पुनर्स्थापना अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय जारी राख्ने जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।

बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान र डुबान निम्त्याई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । नदीको तीव्र बहावले सयौं नागरिकको अकालमै ज्यान गएको, कैयौँ बेपत्ता भएको तथा सयौं परिवार घरवारविहीन भई विस्थापित हुनुपरेको छ । साथै, नदीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत आयोजनाहरू बगाएर अभूतपूर्व विनाश निम्त्याएको छ । बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्‍याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिँदै आएको छ । यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले अग्रपङ्क्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ । विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको यस बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।