माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना सम्पर्कविहीन
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना कर्मचारी कार्यरत थिए । बैंकका अनुसार ६ जनामध्ये एक जना कर्मचारीसँग मात्रै सम्पर्क भएको छ । उनी भागेर सुरक्षित हुन सफल भएका हुन् । बाँकी ४ जना कर्मचारी र एक जना सुरक्षाकर्मीसँग भने अझै सम्पर्क हुन सकेको छैन । सम्पर्क विहीन कर्मचारी तथा सुरक्षाकर्मीको खोजी कार्य जारी रहेको बैंकले जनाएको छ । यसैगरी, बैंकको नुवाकोटस्थित बट्टार शाखामा भने बाढीको कुनै असर नपरेको बैंकले जनाएको छ ।
बाढीले विभिन्न बैंकका ९ बढी शाखामा क्षति, कर्मचारी सम्पर्कमा आउँदै
काठमाडौं । रसुवामा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि बैंकिङ क्षेत्रमा समेत गम्भीर असर परेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन् । उनका अनुसार बाढीपहिरोका कारण बैंकिङ क्षेत्रमा कति क्षति पुगेको छ भन्ने यकिन विवरण अहिले नै भन्न सकिने अवस्था छैन । रसुवाको टिमुरेमा वाणिज्य बैंकका ९ वटा शाखा सञ्चालनमा रहेको र टिमुरेभन्दा तलका क्षेत्रमा समेत शाखा रहेकामा तीमध्ये अधिकांश बाढीले बगाएको सूचना आएको उनले बताए । ‘मानवीय क्षति नभए हुन्थ्यो भन्ने लागेको छ । कतिपय कर्मचारी साथीहरू सम्पर्कमा आउँदै हुनुहुन्छ भने केही सम्पर्कमा आउने प्रयासमा हुनुहुन्छ,’ अध्यक्ष कोइरालाले भने । बाढीका कारण प्रभावित क्षेत्रमा जान सक्ने अवस्था नरहेको भन्दै उनले बैंकका शाखामा रहेको नगदसमेत बाढीले बगाएको प्रारम्भिक सूचना आएको बताए । बैंकिङ क्षेत्रको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र बुधबार साँझसम्म प्रारम्भिक रिपोर्ट आउन सक्ने अध्यक्ष कोइरालाले बताए ।
बैंकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ तान्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न ९० अर्ब रुपैयाँको चार महिने निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भदौ १० गते ११९ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । सूचना अनुसार बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्रै गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । निक्षेपको साँवा र ब्याज एकैपटक आगामी पुस ८ गते भुक्तानी गरिनेछ । यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल लगाउन सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्ने जनाएको छ । एउटै ब्याजदरमा माग गरिएको रकम आह्वान रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने व्यवस्था छ । यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापनका लागि विभिन्न अवधिका निक्षेप संकलन उपकरणमार्फत रकम तान्दै आएको छ ।