एनआईसी एशिया बैंकका तीन शाखामा क्षति, कर्मचारी सबै सुरक्षित
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ । बैंकका अनुसार भदौ १० गते आएको भीषण बाढीका कारण रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा रहेको भवन बाढीले बगाएको छ । यस्तै, नुवाकोटकै त्रिशूली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा पुगेको छ । तीनै शाखा कार्यालयमा ठूलो क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्म ती शाखाबाट बैंकिङ सेवा सञ्चालन नहुने बैंकले जनाएको छ । बैंकले प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी हाल सुरक्षित स्थानमा रहेको जानकारी दिएको छ । आवश्यक परे कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारीसमेत गरिएको बैंकको भनाइ छ । एनआईसी एशिया बैंकले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको बैंकले जनाएको छ । साथै, सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सबै निकायप्रति सम्मान व्यक्त गरेको छ ।
संस्थापक सेयरको सीमा ५ वर्षभित्र कायम नगरे लाभांश र हकप्रदमा रोक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएको सीमाभन्दा बढी संस्थापक सेयर धारण गर्ने सेयरधनीलाई पाँच वर्षभित्र सीमा कायम गर्न निर्देशन दिएको छ । तोकिएको सीमाभन्दा बढी भएको सेयर आफूले धारण गरेको मितिले पाँच वर्षसम्म सीमाभित्र नल्याए बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (३)(क) बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सीमा कायम नभएसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्यस्ता सेयरधनीले धारण गरेको सम्पूर्ण सेयरको नगद लाभांश तथा बोनस सेयर वितरणमा रोक लगाउनुपर्नेछ । साथै, त्यस्ता सेयरधनीलाई हकप्रद सेयरमा सहभागी हुनसमेत बन्देज लगाइनेछ । राष्ट्र बैंकले प्रचलित कानुन तथा आफ्ना निर्देशन पालना गर्ने सन्दर्भमा संस्थापक–संस्थापकबीच संस्थापक सेयर हस्तान्तरण गर्नुपर्ने अवस्था आएमा भने तोकिएको सीमाभन्दा बढी सेयर भए पनि खरिद–बिक्री वा हक हस्तान्तरण गर्न सकिने स्पष्ट पारेको छ । यसका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ । प्रतिव्यक्ति, फर्म, कम्पनी, संस्था तथा समूहका लागि तोकिएको सीमाभन्दा बढी सेयर भए पनि स्वीकृति लिएर संस्थापक–संस्थापकबीच सेयर कारोबार गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा तोकिएको सीमाभन्दा बढी सेयरधारण गर्ने सेयरधनीलाई भने उक्त अवस्था आउनुअघि आफूले धारण गरेको सेयरमा मात्र नगद लाभांश तथा बोनस सेयर वितरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
३ दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार भदौ १२ गतेदेखि भदौ १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न निर्देशन दिइएको हो । बाढी प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुगोस् भन्ने उद्देश्यले उक्त अवधिमा अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न भनिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा सुचारु हुने व्यवस्थासम्बन्धी जानकारी उपयुक्त माध्यमबाट आफ्ना ग्राहक तथा अन्य सरोकारवालालाई गराउनसमेत निर्देशन दिएको छ ।