बाढीका कारण बैंकिङ सेवा प्रभावित, बैंकर्स संघद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवालगायतका जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गरेको छ ।

संघले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै प्रभावित सबैलाई यस कठिन परिस्थितिमा धैर्यताका साथ अघि बढ्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

बैंकर्स संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहेका छन् । यद्यपि, केही कर्मचारीसँग भने हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन ।

बाढीका कारण प्रभावित जिल्लामा बैंकका केही शाखासमेत प्रभावित भएका छन् । विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघले जनाएको छ ।

यद्यपि, बैंकहरूले उपलब्ध स्रोत, साधन तथा वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम राख्न र प्रभावित सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउन प्रयास गरिरहेको संघले जनाएको छ ।

संघले विपद्को समयमा सरकार, राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढिरहेको जनाएको छ ।

नेपालको बैंकिङ क्षेत्र सरकारको राहत, उद्धार तथा पुनःस्थापनाको प्रयासमा साथ दिन पूर्ण रूपमा प्रतिबद्ध रहेको संघको भनाइ छ । प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पु¥याउन बैंकिङ क्षेत्रले आफ्नोतर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ ।

संघले सरकारसँगको सहकार्यमा राहत, उद्धार, बैंकिङ सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आफ्ना सदस्य बैंकसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता पनि जनाएको छ ।

Share News