टाटाको गाडी किन्न मुक्तिनाथको कर्जा, ईभीमा ६० र आईसीईमा ७० प्रतिशत
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले हस्ताक्षर गरे । सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्ने ग्राहकले मुक्तिनाथ विकास बैंकका १७६ वटै शाखाबाट सहुलियत ब्याजदरमा कर्जा सुविधा पाउनेछन् । बैंकले विद्युतीय सवारी साधन खरिदका लागि अधिकतम ६० प्रतिशतसम्म र आन्तरिक दहन इन्जिनयुक्त (आईसीई) सवारी साधनका लागि अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोग हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज हुने अपेक्षा गरिएको छ । साथै यसले साना व्यवसाय तथा उद्यमको विस्तारमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ । यसैबीच, मुक्तिनाथ विकास बैंकले अटो कर्जा, कृषि कर्जा तथा लघु, साना तथा मझौला उद्यम (एसएमई) कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना पनि ल्याएको जनाएको छ ।
नबिल बैंकको डीसीईओ बने गणेश अवस्थी
काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश प्रसाद अवस्थी बढुवा भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । अवस्थी हाल बैंकको नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव सँगालेका अवस्थीले सहायक महाप्रबन्धक (एजीएम) पदबाट नबिल बैंकमा प्रवेश गरेका हुन् । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल राख्ने अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका थिए भने सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय काम गरेपछि उनी नबिल बैंकमा आबद्ध भएका हुन् । विभिन्न बैंकिङ फोरममा सहभागी हुँदै आएका अवस्थी क्रेडिट व्यवस्थापन, व्यावसायिक क्षमता अभिवृद्धि तथा ग्राहक सेवामा केन्द्रित छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै, हार्वर्ड बिजनेस स्कुलबाट ‘डिस्रप्टिभ स्ट्राटेजी’ विषयसमेत अध्ययन गरेका छन् ।
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत लाभांश पारित हुने
काठमाडौं । कामना सेवा विकास बैंकले २०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले भदौ ३१ गते साधारणसभा आयोजना गर्ने भएको हो । साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पेस हुने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्राथमिकताप्राप्त सेयरधनीलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव छ । उक्त लाभांश प्राथमिक सेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा दिइनेछ । त्यस्तै, अन्य सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । उक्त लाभांशमा करसमेत समावेश हुनेछ । साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि पेस हुनेछ । लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदनका लागि प्रस्तुत गरिनेछ । सभामा वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पेस गरिनेछ । नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूची पनि अनुमोदनका लागि प्रस्तुत हुनेछन् । त्यस्तै, बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुने बैंकले जनाएको छ । अन्य विभिन्न प्रस्तावमाथि समेत छलफल हुनेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।