बाढीपीडितका लागि कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि कुल ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

यससँगै विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँच वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ ।

हालैको बाढी र प्राकृतिक प्रकोपबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गर्दै यस सहयोगले राहत, उद्धार र पुनर्स्थापना अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

बैंकले विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय जारी राख्ने जनाएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ ।

Share News