बाढी प्रभावितलाई कामना सेवा बैंकका महिला कर्मचारीले दिए सरसफाइ सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन् ।

बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकका तर्फबाट प्रभावितहरूलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् 

प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारको तत्कालीन स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छताको आवश्यकतालाई ध्यानमा राख्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ ।

विपद्का बेला खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामग्रीको आवश्यकता पनि महत्त्वपूर्ण हुने भएकाले प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन सहयोग गरिएको बैंकको भनाइ छ ।

यसअघि पनि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको थियो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सहयोगसँगै कर्मचारीस्तरबाट गरिएको मानवीय सहयोगले विपद्का बेला सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप बलियो बनाएको जनाएको छ । 

बैंकले विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र आवश्यकता तथा परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
 

Share News