बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीको २५ लाख सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरिएको हो ।

बैंकका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । सहयोगले प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विपद्बाट प्रभावित समुदाय, मानवीय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा व्यक्त गरेको छ ।

विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापनमा सक्रिय रूपमा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक तथा सहयोगी सबैप्रति बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

प्राकृतिक विपद्को कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानवीय सहयोगबाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा थप टेवा पुग्ने भन्दै बैंकले सम्पूर्ण सरोकारवालालाई सहयोगमा जुट्न आह्वानसमेत गरेको छ ।

Share News