बाढीपीडितलाई रकम पठाउँदा डिजिटल कारोबारको सीमा नलाग्ने

काठमाडौं । बाढीपीडितलाई सहयोग पठाउँदा मोबाइल बैंकिङ तथा ई-मनीमार्फत हुने कारोबारमा अधिकतम सीमा लागू नहुने भएको छ ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग पठाउँदा मोबाइल बैंकिङ, वेब एप्लिकेसन तथा ई-मनीमार्फत हुने कारोबारमा तोकिएको अधिकतम सीमा लागू नहुने नेपाल राष्ट्र बैंकले जनाएको हो ।

नेपाल सरकारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग परिचालन भइरहेको सन्दर्भमा राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार संलग्न खातामा रकम पठाउँदा भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को अ.प्रा. निर्देशन नं. ५/०८२ को बुँदा नं. २ र ३ मा उल्लेखित अधिकतम कारोबार सीमा लागू हुने छैन ।

राष्ट्र बैंकले सोहीबमोजिम आवश्यक व्यवस्था गर्न अनुमतिपत्र प्राप्त सबै संस्थालाई निर्देशन दिएको छ । यस व्यवस्थाले बाढी तथा डुबानबाट प्रभावित नागरिकका लागि राहत कोषमा डिजिटल माध्यमबाट आर्थिक सहयोग पठाउन सहज हुने अपेक्षा गरिएको छ ।

Share News