ग्लोबल आइएमई बैंकका सेयरधनीले १० प्रतिशत लाभांश पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार सेयरधनीले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर (करसहित) पाउनेछन् । बैंकले यो लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी २०औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने जनाएको छ। लाभांश सम्बन्धी निर्णयबारे बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

ठाकुर बराल र भेञ्चर ट्रेडिङले बिक्रीमा राखे लुम्बिनी विकास बैंकको सेयर

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै उक्त सेयर खरिद गर्न इच्छुक भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा र खरिददर १५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । युरो एकको बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०६ रुपैयाँ ११ पैसा तोकिएको छ । स्विस फ्र्याङ्क एकको बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ७५ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ५६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी रियाल ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७६ पैसा र यूएई दिराम ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।