प्रभु बैंकद्वारा बाढीपीडितको राहतका लागि २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गरेको हो । भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल र सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति थियो ।

भदौ १० गते बिहान रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको अचानकको बाढीले भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार र राहतमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ ।

प्रभु बैंकले बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन नागरिकको शीघ्र खोजी तथा घाइतेको उद्धार र उपचारको कामना गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

Share News