श्रीलंकाका ४ लाख पसलमा अब 'नेपाली क्युआर' चल्ने
काठमाडौं । नेपाल र श्रीलंकाबीच डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले क्रस-बोर्डर क्युआर भुक्तानी सेवाको औपचारिक सुरुवात भएको छ । नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र श्रीलंकाको 'लन्कापे' बीचको सहकार्यमा आइतबार एक समारोहबीच यो सेवाको सुरुवात गरिएको हो । यो व्यवस्थासँगै अब श्रीलंका भ्रमण गर्ने नेपाली पर्यटकहरूले नेपालका मोबाइल बैंकिङ्ग एप वा कनेक्ट आइपीएसमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी 'लन्का क्युआर' मर्चेन्टहरूमा सिधै स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । दक्षिण एसियाली देशहरूबीच डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताका लागि यसलाई एक महत्त्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ । यस सेवाको प्रारम्भिक चरणमा लक्ष्मी सनराइज बैंकले इसुअर बैंकको रूपमा सेवा सुरु गरेको छ । जसअनुसार प्रयोगकर्ताले आफ्नो डलर कार्ड वा उपकरणलाई कनेक्ट आइपीएसमा लिंक गरी श्रीलंकामा रियल-टाइम भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा अन्य बैंकका मोबाइल एपहरूमा पनि यो सुविधा थप गर्दै लैजाने योजना रहेको छ । यो पहलले नेपाल र श्रीलंकाबीचको वर्षौ पुरानो ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई प्रविधिमार्फत थप प्रगाढ बनाउने विश्वास गरिएको छ । विशेष गरी पर्यटक र व्यापारिक भ्रमणमा जानेहरूका लागि नगद बोक्नुपर्ने झन्झट हट्नुका साथै सुरक्षित र डिजिटल माध्यमबाट कारोबार गर्न सहज हुनेछ । यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरूलाई समेत अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच पुर्याउन नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । श्रीलंकाको कोलाम्बोमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, सेन्ट्रल बैंक अफ श्रीलंका, एनसीएचएल र लन्कापेका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । दुवै देशका राष्ट्रिय भुक्तानी पूर्वाधारहरूलाई जोड्ने यो कदमले क्षेत्रीय स्तरमा वित्तीय समावेशीकरण र आधुनिक भुक्तानी प्रणालीको स्वीकार्यतालाई बढावा दिने मन्त्रालय तथा सम्बद्ध निकायहरूले जनाएका छन् ।
लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ जनाले पाए उपचार तथा परामर्श
काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं शाँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई नि:शुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ । बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपचार तथा परामर्श पाएका थिए । यस्तै, गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।
कृषि विकास बैंकका सेवाग्राहीलाई काठमाडौं मेडिकल कलेजमा छुट
काठमाडौं । कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेजबीच स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । २०८३ साल वैशाख ७ गते सम्पन्न उक्त सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, कर्मचारी, पूर्व कर्मचारी तथा उनीहरूका परिवारले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरूमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । छुट सुविधा लिन बैंकको चेकबुक, वैध डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा खातासम्बन्धी प्रमाण पेश गर्नुपर्नेछ । कर्मचारी तथा परिवारका सदस्यका हकमा भने फोटोसहितको परिचयपत्र, नाता खुल्ने कागजात वा जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । काठमाडौं मेडिकल कलेजले चिकित्सा, नर्सिङ, डेन्टललगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरूलाई सहुलियत प्रदान गर्दै आएको जनाएको छ । यस सहकार्यले कृषि विकास बैंकसँग आबद्ध सेवाग्राही तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच मिल्ने विश्वास गरिएको छ । यसका साथै केएमसी दुवाकोटले सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटि स्क्यान र एमआरआई बाहेकका सेवामा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको जनाएको छ ।