हिमालयन बैंकका अध्यक्ष डा. बैकुण्ठ अर्यालले लिए सपथ

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । नियुक्तिपछि उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको ५०६औं बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्ने सञ्चालक तथा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. अर्याललाई भदौ १४ गतेदेखि लागू हुने गरी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अध्यक्षमा निर्वाचित भएपछि डा. अर्यालले भदौ १५ गते नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । डा. अर्याल नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् । उनी हिमालयन बैंकको सञ्चालकका रूपमा संस्थापक समूहको प्रतिनिधित्व गर्दै आएका थिए । 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको तीनमहिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले सोमबार ८६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार बोलकबोल भदौ १५ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र हुनेछ। सोही दिन निक्षेप संकलन उपकरण निष्कासन गरिनेछ भने यसको अवधि ८६ दिन रहनेछ । संकलित रकमको साँवा र ब्याज मंसिर ९ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलबाट नै ब्याजदर निर्धारण हुनेछ । सहभागी संस्थाले आफूले निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ । एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलपत्र पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ । यो बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडकै गुणकमा अधिकतम आह्वान गरिएको रकमसम्म बोल गर्न सकिने व्यवस्था छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरबाट सुरु गर्दै आह्वान गरिएको रकमसम्म क्रमशः बोलपत्र बाँडफाँड गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भएमा प्रो–राटा आधारमा रकम बाँडफाँड गरिनेछ । केन्द्रीय बैंकले आवश्यकताअनुसार सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग तथा खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ ।

हिमालयन बैंकको अध्यक्षमा वैकुण्ठ अर्याल

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार भदौ १४ गते बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा अर्याललाई अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार प्रचण्डबहादुर श्रेष्ठको राजीनामा भदौ १४ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको छ । त्यसपछि संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का प्रतिनिधि सञ्चालक वैकुण्ठ अर्याललाई सोही मितिदेखि लागू हुने गरी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरिएको हो । हिमालयन बैंकले नयाँ अध्यक्षको नियुक्तिसम्बन्धी निर्णय नेप्सेमार्फत सार्वजनिक गरेको जनाएको छ ।