प्रभु बैंकका ग्राहकलाई भारतको मेदान्ता अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । प्रभु बैंक लिमिटेड र भारतको हरियाणा, गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ । यो सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवार, साथै बैंकका डेबिट र क्रेडिट कार्डबाहकले मेदान्ता अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बहिरंग (ओपीडी) सेवाअन्तर्गत सबै चिकित्सकको परामर्श, प्रयोगशाला परीक्षण र रेडियोलोजी जाँचमा अस्पतालको प्रचलित शुल्कमा १५ प्रतिशत छुट हुनेछ । यस्तै, अन्तरंग (आईपीडी) सेवामा कोठा भाडा, प्रयोगशाला परीक्षण र रेडियोलोजी जाँचमा पनि १५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ । सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका प्रमुख (कर्पोरेट साझेदारी) सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले हस्ताक्षर गरेका हुन् । यो सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ । प्रभु बैंकले देशभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।
चार तारे हेरिटेज होटल २ बैंकको लिलामीमा
काठमाडौं । पोखराको लेकसाइडमा सञ्चालित चारतारे बुटिक होटल ‘हेरिटेज होटल सुइट्स एन्ड स्पा’ बैंकको कर्जा चुक्ता नभएपछि लिलामी प्रक्रियामा परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको सहवित्तीयकरणअन्तर्गत लिएको कर्जा चुक्ता नभएपछि दुवै बैंकले होटलको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेका हुन् । बैंकले होटल सञ्चालकलाई कर्जाको सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर चुक्ता गर्न सात दिनको समय दिएको छ । तोकिएको अवधिभित्र कर्जा चुक्ता नभए धितोमा राखिएको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने बैंकले जनाएको छ । हेरिटेज होटल एन्ड स्वीट्स प्रालिको नाममा कास्कीको पोखरा महानगरपालिका–६ मा दर्ता रहेको कित्ता नम्बर १२६ को १ हजार १०८.८५ वर्गमिटर र कित्ता नम्बर २८ को १ हजार १०४.४० वर्गमिटर क्षेत्रफलको घरजग्गा बैंकमा धितो राखिएको छ । लिलामीका लागि भदौ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने र प्राप्त बोलपत्र भदौ २६ गते दिउँसो २ बजे हिमालयन बैंकको न्युरोड शाखा, काठमाडौंमा खोलिने जनाएको छ । होटल सञ्चालक रविचन्द्र हमाल ठकुरी र संगीता हमाल ठकुरी हुन् । बैंकको करिब १ अर्ब रुपैयाँ कर्जासहित होटलमा २ अर्ब रुपैयाँ बढी लगानी भइसकेको छ । तर, कोभिड–१९ महामारीका कारण पर्यटन व्यवसाय प्रभावित भएपछि होटलको आम्दानीमा असर परेको र कर्जा तथा ब्याजको भार बढ्दै गएपछि आर्थिक समस्या देखिएको हो । पोखराको लेकसाइडमा पाँच रोपनी क्षेत्रफलमा फैलिएको हेरिटेज होटललाई सञ्चालक पक्षले नेपाली मौलिक कला, वास्तुकला र आतिथ्यको संयोजन भएको बुटिक होटलका रूपमा अघि सारेको छ । होटलमा भक्तपुरको इँटा तथा बुङमती र पाटनका करिब १५० जना कालिगढको सीप प्रयोग गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका केही पुराना घरका काष्ठकला, झ्याल तथा ढोकासमेत संकलन गरेर होटलमा प्रयोग गरिएको सञ्चालक पक्षले जनाएको छ । नेपालका मौलिक कला, संस्कृति, परम्परा तथा वास्तुकलालाई पर्यटनमार्फत संरक्षण र जीवन्त राख्ने उद्देश्यले होटल निर्माण गरिएको बताइएको छ । होटल परिसरमा पुराना कलाकृति, हस्तकला तथा वास्तुकलाका सामग्रीलाई आधुनिक आतिथ्य सेवासँग जोडेर प्रस्तुत गरिएको छ । होटलमा अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नामका तीन भवन छन् । कुल ६० कोठा रहेको होटलमा १८ वटा सुइट तथा सेमी–सुइट र ४२ वटा स्ट्यान्डर्ड रुम छन् । हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पा, स्विमिङ पुल, रेस्टुरेन्ट तथा बारलगायतका सुविधा पनि होटलमा छन् । होटलको निर्माण २०६७ सालमा सुरु भएको थियो । करिब आठ वर्ष लगाएर निर्माण सम्पन्न भएको होटल २०७५ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । पूर्णरूपमा सञ्चालनमा आएर व्यवसायले गति लिन नपाउँदै कोरोना महामारीका कारण होटलको व्यवसाय प्रभावित भएको थियो । फेवातालबाट करिब १२३ मिटरको दूरीमा रहेको होटलले नेपाली आतिथ्य संस्कार ‘अतिथि देवो भवः’लाई आफ्नो सेवा दर्शनका रूपमा अघि सारेको जनाएको छ । पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, ताल तथा साहसिक पर्यटनसँग होटलको पहिचान जोड्दै नेपाली कला र संस्कृतिको अनुभव दिने उद्देश्य राखिएको होटलको भनाइ छ ।
सिटिजन्स बैंकका कर्मचारीका लागि मुटु रोगसम्बन्धी सचेतना कार्यक्रम
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथामबारे सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकले भारतको गुडगाउँस्थित मेदान्ता–द मेडिसिटी अस्पतालसँगको सहकार्यमा ‘प्रिभेन्टिङ कार्डियोभास्कुलर डिजिजेज’ विषयमा अनलाइन सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । सेप्टेम्बर १ मा आयोजित कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका बैंकका कर्मचारीलाई लक्षित गरिएको थियो । कार्यक्रममा मेदान्ता–द मेडिसिटी अस्पताल, भारतको कार्डियाक केयरअन्तर्गत क्लिनिकल एन्ड प्रिभेन्टिभ कार्डियोलोजीका भाइस चेयरम्यान डा. मनीष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए । कार्यक्रममा मुटु तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता तथा दैनिक जीवनमा स्वस्थ बानी र जीवनशैली अपनाउने महत्त्वबारे जानकारी दिइएको थियो । नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत मुटुको स्वास्थ्य सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको बैंकले जनाएको छ । अनलाइन कार्यक्रममा बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । कर्मचारीमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ । यसैगरी, बैंकका कार्डवाहक ग्राहकले उपचारका क्रममा मेदान्ता अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको जनाएको छ ।