राष्ट्र बैंकको स्वीकृतिबिनै लघुवित्तले कार्यालय स्थानान्तरण गर्न सक्ने

काठमाडौं । रसुवा लगायतका बाढी तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा सञ्चालित लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालय नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सेवा सुचारु गर्ने प्रयोजनका लागि लघुवित्त वित्तीय संस्थालाई यस्तो सुविधा दिएको हो । राष्ट्र बैंकका अनुसार २०८३ भदौमा आएको प्राकृतिक विपद्का कारण क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका लघुवित्त संस्थाका शाखा तथा कार्यालयलाई संस्थाले आफ्नै निर्णयमा स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सक्नेछन् । यसका लागि राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छैन । तर, शाखा स्थानान्तरण वा समायोजन गरेपछि भने सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ । प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाको सेवा अवरुद्ध हुन नदिन तथा सेवाग्राहीलाई वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्रिय सहकारी बैंकले बाढीपीडित सहकारीका लागि २० लाख दिने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित सहकारी संघसंस्थाको सेवा पुनः सञ्चालन र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भदौ १० गते रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बाढीपहिरोबाट सहकारी संस्थाका कार्यालय, अभिलेख, प्रविधि तथा भौतिक संरचनामा क्षति पुगेको बैंकले जनाएको छ । क्षतिग्रस्त सहकारी संस्थालाई सेवा सञ्चालनमा सहयोग गर्न उक्त रकम छुट्याइएको हो । रकम सम्बन्धित जिल्ला सहकारी संघसँगको समन्वयमा बैंकले तोकेको मापदण्डअनुसार वितरण गरिनेछ । यसैगरी, बाढीपहिरोबाट नुवाकोट शाखामा कार्यरत तीन जना कर्मचारीको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । केही कर्मचारीका आफन्तसमेत सम्पर्कविहीन रहेको बैंकले जनाएको छ । प्रभावित कर्मचारीलाई सहयोग गर्न बैंकका कर्मचारीले स्वःस्फूर्त रूपमा ६ लाख ४ हजार ५३२ रुपैयाँ ६७ पैसा संकलन गरेका छन् । संकलित रकमबाट प्रभावित तीन कर्मचारीलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत दिइएको छ । बैंकका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका सदस्यले पनि एक दिनको बैठक भत्ता सहयोग गर्ने भएका छन् । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ । बैंकले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैंकले प्रभावित सहकारी संस्थाको सेवा निरन्तरता, पुनःस्थापना र संस्थागत सुधारका लागि आवश्यक वित्तीय, प्राविधिक तथा अन्य सहयोग जारी राख्ने जनाएको छ ।

बाढीमा कागजात गुमाएका ग्राहकले केवाईसी भिडाएर बैंकिङ कारोबार गर्न पाउने

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै संस्थामा रहेको ग्राहकको जानकारी (केवाईसी) विवरणसँग भिडाएर ग्राहकको पहिचान पुष्टि भएपछि वित्तीय सेवा उपलब्ध गराउन निर्देशन दिएको हो । राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित ग्राहकको बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । ‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणका आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । यस्तै, विपद्बाट प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।