काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब १४ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ०.९२ प्रतिशत अर्थात् १ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा २ खर्ब १२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
समीक्षा अवधिमा घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले प्रवाह गरेको छ । बैंकले असार मसान्तसम्म २२ अर्ब ३७ करोड ९५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा ७.७४ प्रतिशत अर्थात् करिब १ अर्ब ८७ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा बैंकको घरजग्गा क्षेत्रमा २४ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी थियो ।
घरजग्गा कर्जा विस्तार गर्ने बैंकमध्ये सानिमा बैंक अगाडि देखिएको छ । बैंकको घरजग्गा क्षेत्रमा कर्जा लगानी २८ प्रतिशतले बढेर ७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले यस क्षेत्रमा ६ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
त्यस्तै, कृषि विकास बैंकको घरजग्गा कर्जा २७.५५ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । नेपाल बैंकको २१.६५ प्रतिशतले बढेर १६ अर्ब २६ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २० प्रतिशतले बढेर ५ अर्ब २० करोड रुपैयाँ, एनएमबी बैंकको १८.२८ प्रतिशतले बढेर ६ अर्ब २३ करोड रुपैयाँ र नेपाल एसबीआई बैंकको १७.२३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
नबिल बैंकको घरजग्गा कर्जा ८.३१ प्रतिशतले बढेर १७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । हिमालयन बैंकको ७.५९ प्रतिशतले बढेर ११ अर्ब ५० करोड रुपैयाँ, एभरेष्ट बैंकको ६.१५ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड रुपैयाँ, प्राइम बैंकको ३.९७ प्रतिशतले बढेर २१ अर्ब ४८ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकको ३.३५ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
तर, समीक्षा अवधिमा विभिन्न ९ बैंकको घरजग्गा क्षेत्रमा कर्जा लगानी घटेको छ । प्रभु बैंकको कर्जा १.५० प्रतिशतले घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । लक्ष्मी सनराइज बैंकको २.३० प्रतिशतले घटेर १५ अर्ब ५६ करोड रुपैयाँ तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.११ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ सीमित भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको घरजग्गा कर्जा ९.११ प्रतिशतले घटेर १२ अर्ब ७२ करोड रुपैयाँ, एनआईसी एशिया बैंकको ९.१२ प्रतिशतले घटेर १९ अर्ब ३१ करोड रुपैयाँ, कुमारी बैंकको ११.५६ प्रतिशतले घटेर ६ अर्ब ५२ करोड रुपैयाँ र सिटिजन्स बैंकको १२.५३ प्रतिशतले घटेर ३ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । राष्ट्रिय वाणिज्य बैंकको घरजग्गा कर्जा १४.०९ प्रतिशतले घटेर ८ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।