डेपुटी गभर्नर रावलको सम्पत्ति: २५ तोला सुन, हजारौं कित्ता सेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

रावलले सार्वजनिक गरेको विवरणअनुसार उनी र परिवारका सदस्यका नाममा विभिन्न स्थानमा घरजग्गा, नगद, सुनका गहना र सेयर लगानी रहेको देखिएको छ ।

रावलकी श्रीमतीको नाममा भक्तपुरको मध्यपुर थिमी-२, दिव्यश्वरी प्लानिङमा १९१ वर्गमिटर क्षेत्रफलमा बनेको घर रहेको छ । उक्त घर २०७७ फागुनमा १ करोड ८० लाख रुपैयाँमा खरिद गरिएको विवरणमा उल्लेख छ । घर खरिदका लागि बैंक ऋण, स्वआर्जन तथा पुरानो घरजग्गा बिक्रीबाट प्राप्त रकम प्रयोग गरिएको रावलले बताएका छन् ।

त्यस्तै, रावलकी आमाको नाममा कैलालीको टीकापुरमा १ कठ्ठा तथा अछामको बान्नीगढी जयगढमा १ रोपनी जग्गामा बनेका घर छन् । यी घरलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ ।

जग्गातर्फ आमाको नाममा टीकापुरमा २ बिघा १ कठ्ठा र बान्नीगढी जयगढमा करिब ४५ रोपनी जग्गा रहेको छ । धनगढीमा परिवारका सदस्यका नाममा ३३८.६३ वर्गमिटरका दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । रावलको आफ्नै नाममा कैलालीमा १ कठ्ठा जग्गा छ भने श्रीमतीको नाममा करिब ६ लाख रुपैयाँ लागतको जग्गा रहेको छ ।

बैंक मौज्दाततर्फ रावलको नाममा विभिन्न वाणिज्य बैंकमा ११ लाख ४९ हजार २१४ रुपैयाँ रहेको छ । त्यस्तै, बैंक खातामा १४ हजार २३ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ । रावलले नेपाली रुपैयाँ तथा डलरको बचत पारिश्रमिक, वैदेशिक तालिम तथा भ्रमणबाट प्राप्त रकमबाट भएको बताएका छन् ।

श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थामा ३ लाख ८४ हजार ९२७ रुपैयाँ मौज्दात रहेको छ । उक्त रकम घरभाडाबाट प्राप्त भएको जनाइएको छ । रावलको नाममा ४० हजार रुपैयाँ नगद रहेको छ ।

रावलको परिवारसँग २५ तोला सुन र २ किलो चाँदी रहेको छ । यीमध्ये केही पैतृक र केही स्वआर्जनबाट प्राप्त भएको विवरणमा उल्लेख छ । परिवारसँग १ लाख रुपैयाँ मूल्यको हिराको औँठीसमेत रहेको छ ।

सेयर लगानीतर्फ रावलको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७७० कित्ता साधारण सेयर छन् । उनकी श्रीमतीको नाममा बैंक तथा वित्तीय संस्थाका २७ हजार ५६७ कित्ता, बीमा कम्पनीका १३० कित्ता, जलविद्युत कम्पनीका २ हजार ३७९ कित्ता र डिस्टिलरी कम्पनीका १ हजार कित्ता सेयर रहेको छ ।

त्यस्तै, छोराछोरीको नाममा समेत बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीका साधारण सेयर रहेको विवरणमा उल्लेख छ ।

रावलका छोराको नाममा २०८२ सालमा खरिद गरिएको होन्डा स्कुटर रहेको छ । यसको खरिद मूल्य १ लाख ९५ हजार ४ सय रुपैयाँ रहेको छ ।

सम्पत्ति विवरणमा रावलले नेपाल राष्ट्र बैंक कर्मचारी विनियमावलीअनुसार ५० लाख रुपैयाँसम्म कर्जा तथा सापटी सुविधा लिन सक्ने उल्लेख गरेका छन् ।

यस्तै, रावल तथा परिवारका सदस्यका नाममा एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानमा बीमा रहेको तथा अवकाश कोषसम्बन्धी रकमसमेत रहेको विवरणमा उल्लेख छ ।

Share News