प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि थप राहत सामग्री उपलब्ध गराएको छ । बैंकले बिहीबार (भदौ २५) नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको हो । राहत सामग्री प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् । ती सामग्री बाढीका कारण घरवारविहीन भएका तथा प्रभावित परिवारलाई वितरण गरिने बैंकले जनाएको छ । यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको थियो । बैंकले विज्ञप्तिमार्फत भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना जनाएको छ । साथै, सम्पर्कविहीन व्यक्तिको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्मचारीलाई कर्जा दिने समझदारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित कार्यक्रममा समझदारीपत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्ने छ । साथै, कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । यसबाट सांस्कृतिक संस्थानका कर्मचारी लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । समझदारीपत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृतहरू दुर्गा कुमारी कँडेल (छत्कुली), रामकुमार थापा र निश्चल श्रेष्ठलगायतको उपस्थिति थियो । त्यस्तै, बैंकको शाखा सञ्चालन विभागका विभागीय प्रमुख ध्रुवप्रसाद अर्याल तथा सांस्कृतिक संस्थानका प्रशासकीय अधिकृत सुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारी सहभागी थिए । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा निर्वाचित

काठमाडौं । युवा उद्यमी चिराग गोयल एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा निर्वाचित भएका छन् । बैंकको २०औँ वार्षिक साधारणसभाबाट गोयल सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका हुन् । गोयलको सञ्चालक समितिमा प्रवेशले बैंकको संस्थागत सुशासन र दीर्घकालीन मूल्य सिर्जनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, निजी क्षेत्र, वित्तीय संस्था, युवा नेतृत्व र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने उनको अनुभव बैंकका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । झापाको बुद्धशान्ति स्थायी घर भएका गोयल विभिन्न व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय छन् । गोयल समूहसँग आबद्ध उनले उत्पादन, व्यापार, बैंकिङ तथा वित्त, बीमा, रियल इस्टेट, खानी, नवीकरणीय ऊर्जा, कृषि, आतिथ्य तथा निर्माणलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । व्यवसायसँगै गोयल सामाजिक तथा मानवीय क्षेत्रमा पनि सक्रिय छन् । सन् २०१५ को भूकम्पपछि ‘हेल्पिङ ह्यान्ड्स नेपाल’मार्फत सुरु भएको उनको सामाजिक अभियान ‘रोबिन हुड आर्मी नेपाल’ लगायत विभिन्न संस्थासँगको सहकार्यमा निरन्तर अघि बढेको छ । उनले खाद्य सहयोग, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाढी राहत तथा कोभिड–१९ प्रतिकार्यलगायतका अभियानमा सक्रिय भूमिका निर्वाह गरेका छन् । ‘प्रोजेक्ट कुहिरो’ लगायतका पहलमार्फत स्वयंसेवक, संस्था, व्यवसायी तथा समुदायलाई जोड्दै स्रोत परिचालन र प्रत्यक्ष सहयोगमा पनि उनले काम गरेका छन् । युवा नेतृत्व र उद्यमशीलताको क्षेत्रमा समेत परिचित गोयलले नेपालिज यङ इन्टरप्रेन्योर्स फोरम (एनवाईईएफ) काठमाडौंको अध्यक्षका रूपमा सन् २०२१ देखि २०२३ सम्म नेतृत्व गरेका थिए । उनी नेपाल सेन्टर फर पोलिटिकल लिडरसिप (एनसीपीएल) का सह–संस्थापकसमेत हुन् ।