लक्ष्मी सनराइज बैंकको लाभांश पारित गर्न मंसिर २५ मा साधारणसभा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले मंसिर २५ गते २६औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको ३३३औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

बैंकले साधारणसभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१ दशमलव ७३ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । त्यसैले मंसिर १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

बैंकको २६औँ वार्षिक साधारणसभा मंसिर २५ गते बिहान १० बजे काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बस्नेछ । बैंकको हाल कायम चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार ४५८ रुपैयाँ रहेको छ । 

Share News